नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ असार ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेतृत्वमा सरकार बनेको दुई वर्षभन्दा बढी समय बितिसकेको छ । देश संघीयतामा गएपछिको पहिलो आम निर्वाचनबाट झण्डै दुई तिहाइ बहुमत प्राप्त गरेर बनेको नेकपा नेतृत्वको वर्तमान सरकार यतिबेला एउटा गम्भीर मोड पुगेको छ जसको दाबी सत्तारुद्ध दलका शिर्षस्त नेताहरुले पनि गर्न थालेका छन् । । २०७४ फागुन ३ गते मुलुकको ४१औं प्रधानमन्त्री बनेका केपी शर्मा ओली यतिबेला आफ्नै पार्टी भित्रको आन्तरिक द्वन्द्वमा फसेका छन्, जसका कारण ओलीको प्रधानमन्त्री र पार्टी अध्यक्ष पदमाथि मात्रै नभएर देशको राजनीतिक भविष्यमाथि नै संकटको बादल मडारिएको छ । कसरी आइलाग्यो त यस्तो अवस्था ?
तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुनु पूर्व दुबै पार्टीका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच एउटा गोप्य सहमति भएको थियो । दुई अध्यक्षबीच २०७५ साल जेठ २ भएको पाँच बुँदे सहमति पत्रको चौथो बुँदामा ‘समानता र समान अवधिका आधारमा आवश्यकता अनुरूप दुबै अध्यक्षले सरकारको नेतृत्व गर्ने’ भनिएको थियो । तर पछि आएर दुबै अध्यक्षबीच सरकारको नेतृत्व आलोपालो गरे अस्थिरता हुन सक्ने भन्दै २०७६ मंसिर ४ गते पाँच वर्ष सरकारको नेतृत्व प्रधानमन्त्री ओलीले नै गर्ने र पार्टीको कार्यकारी जिम्मेवारी प्रचण्डले गर्ने लिखित सहमति भयो । दुबै अध्यक्षले उक्त लिखित सहमतिको साक्षी राष्ट्रपति विद्यादेवी भण्डारीलाई राखेका थिए । तर लिखित सहमति पश्चात् पनि दुई अध्यक्षबीच जिम्मेवारीका विषयमा मतभेद जारी नै रह्यो, जसले गर्दा पार्टीभित्रै नै शक्ति संघर्ष चर्किदै गयो । यसैको परिणाम गत वैशाख १७ गतेको सचिवालय बैठकमा प्रचण्ड र नेता नेपालले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका थिए । तर त्यसक्रममा उल्टै प्रधानमन्त्री ओलीले सचिवालयमा बहुमतमा देखिएको प्रचण्ड नेपाल समूहलाई फुटाउन वामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव अघि सारेर बहुमत आफ्नो पोल्टामा पारेका थिए ।
हरेक तीनतीन महिनामा हुनुपर्ने स्थायी कमिटी बैठक समयमै हुन नसकेको भन्दै नेताहरूले नेतृत्वलाई बैठकको लागि दबाब दिइरहेका थिए । गत वैशाख १० गते स्थायी कमिटी बैठक माग गरेर २० जना स्थायी कमिटी सदस्यहरूले दुई अध्यक्षलाई पत्र समेत पठाएका थिए । त्यसपछि बल्ल गत असार १० गतेनेकपा स्थायी कमिटीको पाँचौं बैठक सरकारी निवास बालुवाटारमा सुरू भयो । बैठकको सुरूमा दुवै अध्यक्षद्वय ओली र प्रचण्डले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा दुई अध्यक्षबीच टकराव देखियो । प्रधानमन्त्रीले सरकारको बचाउ गर्दा प्रचण्डले भने प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्टि जनाए । सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले पार्टी व्यवस्थित ढंगले चल्न नसके र अहिलेको भद्रगोल अवस्था रहिरहे पार्टी विघटन हुन सक्ने चेतावनी दिए। अध्यक्ष दाहालले आधाआधा कार्यकाल प्रधानमन्त्री चलाउने सहमति छाड्नु गल्ती भएको महसुस गरेकाे समेत बताएका थिए । तर प्रधानमन्त्री ओलीले भने पार्टीभित्र गुटको राजनीति बढेको र पार्टीकै मान्छेहरूले सरकारलाई घेराबन्दीमा पारेको गुनासो गरे । उक्त स्थायी कमिटी बैठकमा कोभिड–१९ को नियन्त्रण, रोकथाम र उपचार, नेपालको सीमा समस्या र समाधान, सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा र सांगठानिक एकताको बाँकी कामहरू सम्पन्न गर्ने, एमसीसी र विविध गरी सातवटा एजेण्डा तय भएका थिए ।
स्थायी कमिटी बैठक कसरी गयो एजेण्डा बाहिर ?
सातवटा एजेण्डा भन्दा बाहिर स्थायी कमिटी बैठक जानुको मुख्य कारण प्रधानमन्त्री ओलीको अभिव्यक्ति हो । असार १४ गते मदन भण्डारीको ६९औं जन्मजयन्तीका अवसरमा बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको नयाँ नक्सा जारी गरेका कारण आफूलाई प्रधानमन्त्रीबाट हटाउन भारतको राज्य संयन्त्र र नेपालकै केही नेताहरू लागि परेको अभिव्यक्ति दिएका थिए । धेरैले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति अस्वाभाविक भएको भन्दै विश्लेषण गरिरहेका बेला स्वयंम् नेकपाभित्र भने हलचल नै मच्चायो, जसको पराकम्पन नेकपामा मात्रै नभएर राष्ट्रिय राजनीतिमा समेत गएको छ । नेकपाका शीर्ष नेताहरूले समेत ओलीले अब प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग अघि सारे । प्रचण्ड–नेपाल समूह मिलेर ओलीको राजीनामा माग गरेपछि ओली सचिवालय र स्थायी कमिटीमा अल्पमतमा परे ।
पार्टीभित्रै आफ्नो राजीनामाको माग भएपछि संकटमा परेका प्रधानमन्त्री ओली यतिबेला राष्ट्रपति, मन्त्री र आफू निकट नेताहरूसँगको भेटघाटलाई तिब्रता दिएर आफूलाई सहयोग गर्न आग्रह गरिरहेका छन् । यसैबीच प्रधानमन्त्री ओली विहीबार मन्त्रीपरिषद्को बैठक बोलाएर अनपेक्षित रूपमा संघीय संसदको चालु अधिवेशन अन्त्य गर्ने निर्णयमा पुगे । अनपेक्षित रूपमा अधिवेशन अन्त्यले नेकपाभित्रको विवादलाई बढाउन झनै मलजल मिल्यो । यता ओलीइतर समूह अब प्रधानमन्त्री ओलीले आफ्नो प्रतिरक्षाको लागि कुनै पनि कदम चाल्न सक्ने आशंका गर्न थालेका छन् । पार्टीभित्रै विवाद बढिरहेका बेला अध्यक्षद्वयबीच सहमति र समझदारी हुनुपर्नेमा उल्टै दुबै अध्यक्षबीच दुरी बढ्दै गइरहेको देखिन्छ । यसले अबको नेकपाभित्रको आन्तरिक द्वन्द्वका कारण ओली, प्रचण्ड र स्वयम् नेकपाको भविष्य मात्रै नभएर अब नेपाली राजनीतिले कुन मोड लिने हो ? भन्ने गम्भिर प्रश्न उब्जाएको छ ।