पार्टीभित्र उत्कर्षमा पुगेको विवाद मिलाउन भन्दै नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार झण्डै ३ घण्टा वार्तामा बसे । स्थायी कमिटी बैठकमा ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजीनामा दिन दबाब परेपछि पार्टी नै फट्ने तहसम्मको विवाद सृजना भएको थियो ।
पार्टीभित्रबाट राजीनामाको दवाव बढ्दै जाँदा ओलीले अविश्वासको प्रस्ताव दर्ता गर्ने बाटै बन्द गर्न जारी बजेट अधिवेशन नै अन्त्य गरे । यता ओलीइत्तरका नेताहरू पार्टी पुटाउन सहज बनाउन अध्यादेश ल्याउने तयारी ओलीले गरेको भन्दै सशंंकित भए । ओलीविरूद्ध आक्रमक रूपमा प्रस्तुत भैरहेका प्रचण्ड र वरिष्ठ नेताद्वय माधव नेपाल, झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतम लगायतका नेताहरू ओलीले पार्टीमा सल्लाहा नै नगरी बजेट अधिवेशनको अन्त्य गरेर पार्टी फुटाउने दिशामा अगाडि बढेपछि एकाएक रक्षात्मक हुन पुगे ।
ओलीले सत्ता टिकाउन जस्तो कदम पनि चाल्ने देखिएपछि ओलीलाई फकाउने रणनीति लिएको सो समूहले प्रचण्डलाई वार्तामार्फत ओलीलाई पार्टी विधानसम्मत चल्न आग्रह गर्ने जिम्मेवारी दियो । सोहिबमोजिम आज दुई अध्यक्षबीच बालुवाटारमा वार्ता भएको थियो ।
ओलीसँग कुराकानीको क्रममा प्रचण्डले पार्टी विधानअनुसार पनि नचल्ने र राजीनामा पनि नदिने गर्दा सहकर्मीहरू रिसाएको भन्दै २०७५ साल जेठ २ गतेको समझदारीबमोजिम अगाडि बढ्न आग्रह गरेका थिए । जेठ २ को समझदारी भनेको अढाई अढाई वर्ष आलोपालो प्रधानमन्त्री बन्ने भन्ने थियो । पार्टीलाई फुटबाट जोगाउन सो समदारीअनुसार अगाडि बढ्नु नै उपयुक्त विकल्प हुने प्रचण्डको भनाई थियो ।
तर ओलीले २०७६ मंसिर ४ भन्दा पछाडि हट्न नसकिने जवाफ फर्काएका थिए । गत मंसिर ४ मा ओली र प्रचण्डबीच ओलीले ५ वर्ष नै सरकार चलाउने र प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिने समझदारी भएको थियो । बैठकमा ओलीले मंंसिरमा गरेको समझदारीलाई लत्याउँदै आज कसको इशारामा राजीनामा माग्दै हुनुहुन्छ? भनेर प्रश्न गरेका थिए ।
प्रचण्डले ओलीलाई स्थायी कमिटी बैठकबाट भागेको र पार्टी फुटाउने मनासायले अध्यादेश ल्याउने तयारी भएकोबारे आफूले जानकारी पाएको भन्दै पार्टी फुटाउने छुट कसैलाई नभएको बताएका थिए । वार्तामा आक्रमक रूपमा प्रस्तुत भएका ओलीले भारतको योजनामा केही सहकर्मीहरू बुरूक्क उफ्रिएकोले साइजमा ल्याउन केही अप्रिय निर्णय लिनुपरेको बताएका थिए ।
ओलीले गैह्र जिम्मेवारीपूर्ण कुरा गर्न थालेपछि प्रचण्डले तत्काल विवादको अन्त्य गर्न कुनै एक पदबाट राजीनामा दिन आग्रह गरेका थिए । तर ओलीले राजीनामा नै माग्नुहुन्छ भने आ–आफ्नो सुर गरौं कम्रेड भन्ने जवाफ दिएको स्रोतको दाबी छ । परिस्थिति बिग्रिए पार्टी फुटाउन तयार रहेको तर राजीनामा दिन तयार नभएको ओलीको आशय बुझेपछि प्रचण्ड निराश हुँदै यसले कसैलाई फाइदा नगर्ने बताएका थिए । दुई अध्यक्षबीचको वार्ताको वातावरण बिग्रिएपछि बैठकमा सहभागि भएका महासचिव विष्णु पौडेल र जनार्दन शर्माले समन्वयन गरेर सहमति गरेर अगाडि बढ्ने वातावरण बनाउन दुबै अध्यक्षलाई दबाब दिएका थिए ।
वार्ता सौहार्दपूर्ण नभएपछि प्रचण्डले भोलि थप कुराकानी गरेर वार्तामा बसौं भनेका थिए । ‘ओलीजी आफ्नो ढिपी छोड्नुहुन्न, जति वार्तामा बसे पनि निष्कर्ष केही निस्किदैन । फेरि पनि मिलेर अगाडि बढ्नुको विकल्प छैन । भोलि वार्तामा बसौं’ भन्दै प्रचण्ड बालुवाटारबाट बाहिरिएका थिए ।
ओलीले राजीनामा नदिने भएपछि प्रचण्ड र नेपाललगायतका नेताहरू आगामी योजनाको तयारीमा छन् । ओलीलाई राजीनामा पनि ग।राउने र पार्टी फुट्न पनि नदिने ओलीइत्तरका नेताहरूको प्रयासले मुर्तरूप लिन सकेन । अन्ततः यथास्थितिमैं रमाउने या पार्टी फुटाएरै भए पनि ओलीलाई दुबै पदबाट हटाउने भन्ने यक्ष प्रश्न ओलीइत्तरका नेताहरूमा आइपरेको छ ।