
प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच स्थायी कमिटी बैठक रोकेर पार्टीभित्रको सङ्कट टार्ने विन्दुको खोजी गर्ने सहमति भएको छ । शुक्रबारको बैठक सहमतिमा नपुगेपछि दुई अध्यक्षबीच शनिबार बिहान ९ बजे बस्ने र स्थायी कमिटी बैठकअघि नै समाधान खोज्ने समझदारी भएको थियो ।
तर, प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकै निराश थिए । ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष नछोड्ने बाँकी विषयमा सहमति खोज्ने भए आफू तयार रहेको प्रष्ट शब्दमा बताएपछि प्रचण्ड बिलखबन्दमा परेका थिए । उनले तुरुन्तै झलनाथ खनाल, माधव नेपालसहितका नेतालाई सहमतिको छाँट नदेखिएको ओली समझदारीमा आउनै नचाहेको सन्देश दिएका थिए ।
शनिबार बिहान दुई अध्यक्षबीच फोन संवाद भएको र बैठक रोकेर समाधान खोज्ने विषयमा सहमति भएको स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले बताए । ‘बैठक सहमति मै रोक्नुको सन्देश पनि ‘सहमति’ कै हो । यसबाट हामीले के बुझ्नुपर्छ भने पार्टीभित्र सहमतिको वातावरण बन्दै छ । आजभोलि पनि नेताहरूको बीचका कुराकानी होलान्,’ उनले भने ।
