
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्य जनार्दन शर्माले पार्टी फुट्न नदिइने बताएका छन् । शीर्ष नेताहरुबीच उत्पन्न् विवादले पार्टी फुटको संघारबाट गुज्रिरहेका बेला शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म दृढता पुर्वक भन्न चाहन्छु पार्टी फुट्दैन फुटाउन दिइँदैन ।’ नेता शर्माले नेकपा भित्रको विवादलाई सीमित नेताहरूको समस्याको रुपमा मात्र हेर्न नहुने बताउँदै राष्ट्र, देश र कम्युनिस्ट आन्दोलनको समस्याको रुपमा देखिएको बताएका छन् ।
‘दुई नेताले के गर्लान् भनेर अब हेरेर बस्नु हुँदैन । पार्टीलाई एकताबद्ध गरी राष्ट्र र जनताको आवश्यकतामा सञ्चालन गर्न नेकपाका हामी आम नेता कार्यकर्तामा गम्भीर जिम्मेवारी आएको छ’, शर्माले भनेका छन् । शर्माले पार्टीलाई विचार, विधि र पद्धतिबाट विचलित गरी व्यक्तिका आ–आफ्ना स्वार्थ पुर्तिको हतियार बन्न दिनु नहुने बताएका छन् ।
‘एकता गर्दा गरिएका सहमति, आम जनता र कार्यकर्ताको सुझावको आधारमा तयार हुने सहमतिको नयाँ प्रस्ताव स्वीकार गरी रुपान्तरणसहित नेतृत्व गर्न नेताहरूलाई आग्रह गर्दछौं’, शर्माले भनेका छन्, ‘कार्यकर्ता र जनताको आग्रह अस्विकार गर्ने अधिकार कुनै नेता विशेषलाई प्राप्त छैन भन्ने कुरा स्मरण गराउन चाहन्छु ।’
उनले एकताको एक अभियान्ताको नाताले सबै नेता कार्यकर्तालाई पार्टी एकताको पक्षमा योगदान गर्न अपिल गर्दै भनेका छन् ‘रुपान्तरणसहितको एकता आजको आवश्यकता ।’
https://www.facebook.com/OfficialJanardanSharma/posts/3112455745501285
