मोरङ जिल्लामा सातदिने सूक्ष्म शिक्षण अभियान सम्पन्न

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, जिल्ला समिति मोरङले सूक्ष्म शिक्षण अभियान २०२० कार्यक्रम असार १९ गते समापन गरेको छ । एक हप्तासम्म चलेको कार्यक्रममा देशभरिका विभिन्न विद्यालयमा अध्यापन गर्ने शिक्षकहरूले सूक्ष्म पाठयोजनासहित आफ्नो शिक्षण कौशल प्रस्तुत गरेका थिए । प्रविधिमैत्री भएर आफ्नो विषयको कक्षा प्रस्तुत गर्ने शिक्षहरूलाई समीक्षकहरूद्वारा सुझाव तथा परामर्शसमेत प्रदान गरिएको थियो ।

संगठनका जिल्ला अध्यक्ष प्रेमप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको परिकल्पनाकार संगठनकै राष्ट्रिय अध्यक्ष लक्ष्मण शर्मा भएको जानकारी कार्यक्रमका अध्यक्ष भट्टराईले दिएका थिए । सो कार्यक्रमको योजना बनाउन सहयोग गर्नेहरूमा सङ्गठनका राष्ट्रिय समितिका महासचिव हंश शाहीलगायत सिङ्गो राष्ट्रिय समिति रहेको जानकारी पनि भट्टराईले नै दिएका थिए । शर्माले शिक्षालाई प्रविधिमैत्री बनाउनको लागि शिक्षक तयार हुनुपर्ने र शिक्षकलाई तयार बनाउन विभिन्न तालिमको आवश्यक पर्ने कुरा सोही कार्यक्रममा बताए । सङ्गठनले अघिल्ला कार्यक्रमहरू विभिन्न शीर्षकमा रहेर गरिसकेको र ती कार्यक्रम प्रविधिको सीपसम्बन्धी रहेको हुनाले यस सूक्ष्म शिक्षण अभियान शिक्षकहरूका लागि सबैभन्दा बढी प्रभावकारी भएको कुरा समापनको दिन शर्माले नै राखेका थिए ।



प्रविधियुक्त सूक्ष्म योजना बनाएर कार्यक्रममा विभिन्न जिल्लाबाट आफ्नोक्षमता प्रस्तुत गर्नेहरूमा खेम लिम्बू, बविता पराजुली, सरस्वती पाण्डे, नेत्र तामाङ, दीपक अर्याल, किरण भण्डारी, श्रीप्रसाद न्यौपाने, दीक्षा तुम्सा, यसोदा रेग्मी, शकुन्तला सोती, दीपेन्द्र शाह, कविता खनाल, खिनाकुमारी बुढाथोकी, झङ्क पराजुली, तीर्थराज ढकाल, बीना लामिछाने र रेखा विकसहित सत्र जना थिए । उनीहरूले नेपाली, अङ्ग्रजी, विज्ञान, सामाजिक, कम्प्युटरलगायत विभिन्न विषयमा आआफ्नो कक्षा प्रस्तुत गरेका थिए । सातदिनको ती प्रस्तुतीहरूमा समीक्षा गर्ने आठजना समीक्षकहरूमा सङ्ठनका राष्ट्रिय समितिका पूर्व उपाध्यक्ष एकराज भट्टराई, सोही समितिका पूर्व महासचिव रमाकान्त सापकोटा, मोरङ जिल्लाको सुकुना बहुमुखी क्याम्पसका उपप्राध्यापक हर्क गुरूङ, डा. पेशल खनाल (त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर,सेन्ट्रल डिपार्टमेन्ट अफ एजुकेशन), प्रदेश नं. १ सुनसरीका शिक्षा तालिम केन्द्र प्रमुख गणेश अधिकारी, सो कार्यक्रमकै ब्युरो प्रमुख केशवराज घिमिरे, शङ्खरापुर नगरपालिका, काठमाडौंका उपसचिव बौधराज निरौला, शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला र डा. मिनाक्षी दाहाल (काठमाडौं विश्वविद्यालय, स्कुल अफ एजुकेशन) थिए । समीक्षकहरूले कक्षा प्रस्तुत गर्ने सम्पूर्ण शिक्षकहरूलाई बधाई दिँदै सुझाव तथा परामर्श समेत दिएका थिए ।

जिल्ला सचिव महेशकुमार गौतमले सञ्चालन गरेकोे कार्यक्रममा संगठकै गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष तथा सो कार्यक्रमका ब्युरो प्रमुखकेशवराज घिमिरेले प्राविधिकरूपमा विशेष सहयोग गरेका थिए । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, मोरङ जिल्लाको शैक्षिक अनुसन्धान तथा तालिम विभागका संयोजक एनपी भण्डारी, सो विभागकै सदस्य तथा कार्यक्रमकी होस्ट धर्मकुमारी भण्डारी, इलामका जिल्ला अध्यक्ष प्रकाश खनाल, प्रदेश नं. १ का सङ्गठनका प्रदेश अध्यक्ष बुद्धिमान कार्की, प्रदेश नं. १ कै सचिव रघुनाथ मिश्रलगायत विभिन्न व्यक्तिहरूको पनि कार्यक्रममा विशेष सहयोग रहेको थियो । सातदिने कार्यक्रममा देशभरिबाट हजारौं शिक्षकहरूको उपस्थित रहेको सङ्गठनकी मोरङ जिल्ला सहसचिव तथा सो अभियान कार्यक्रमकी प्रचारप्रसार विभाग प्रमुख रीता पाठकले जानकारी गराइन् ।

सम्बन्धित समाचार