नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ चैत्र ।

फुटको संघारमा पुगेको सत्तासिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षको निर्णायक भनिएको वार्ता सकिएको छ । बालुवाटारमा प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आ–आफ्नो पक्षका साक्षी नेतासहित छलफल गरेका हुन् ।
शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर फर्केपछि प्रचण्ड सोझै बालुवाटार हानिएका थिए । बालुवाटार छलफलमा ओलीको तर्फबाट नेताहरु विष्णु पौडेल र शंकर पोखरेल तथा प्रचण्डको तर्फबाट वर्षमान पुन र जनार्दन शर्मा पनि सहभागी थिए । छलफलको विस्तृत विवरण आउन बाँकी छ ।
ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने दाहालको माग छ । तर दुवै पदबाट राजीनामा नदिने बरु छुट्टै पार्टी घोषणा गर्ने चेतावनी ओलीले दिएका छन् । दुवै अध्यक्ष आ–आफ्नो अडानमा टसमस नभएपछि पार्टी फुट्न सक्ने सम्भावना प्रबल बन्दै गएको छ । शनिबार साँझ मन्त्रीहरुलाई बालुवाटार बोलाएर ओलीले पार्टी फुट्न सक्ने आशय व्यक्त गर्दै आ–आफ्नो कित्ता क्लियर गर्न निर्देशन दिएका थिए । ओली र प्रचण्डबिच यसअघि पनि वार्ता भएको थियो ।
