नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ चैत्र ।

२९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७ माकलबारीबाट दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–४ बेशिगाउँ बस्ने दोलखा गौरी शंकर गाउँपालिका–४ घर भएका २७ वर्षीय पासाङ शेर्पा र कागेश्वारी मनोहरा नगरपालिका–६ बस्ने सिन्धुपाल्चोक घर भएका २८ वर्षीय भुवन विष्ट रहेका छन् ।
मादक पदार्थ सेवन गरी ती महिलालाई नसालु पदार्थ खुवाई बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । उनीहरुलाई महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
लकडाउनले गर्दा पहिले भन्दा बलात्कारका घटनाहरु कम भए पनि रोकिन भने सकेको छैन । लकडाउनमा सबै मानिस घरमा बस्न बाध्य छन् तर पनि महिलाहरु भने सुरक्षित हुन सकिरहेको छैनन् । केही दिनको अन्तरालमा बलात्कार र बलात्कारपछि हत्याका घटना सुनिन आइरहेको छ ।
