नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ असार ।

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद बढ्दै जाँदा नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले सक्रियता देखाएकी छन् । विगतमा पनि नेकपामा जब विवाद उत्पन्न हुन्छ तब राजदूत याङ्छीको सक्रियता पनि बढ्दै गएको देखिएको छ । नेकपामा देखिने गरेको विवाद मिलाएर नेकपालाई विभाजन हुनबाट बचाउँन बेलाबेला राजदूत याङ्छीले महत्वपूर्ण भूमिका खेल्ने गरेको टिकाटिप्पणी हुँदै आइरहेको परिप्रेक्षमा पछिल्लो समयमा पनि नेकपाको विवादलाई लिएर याङ्छीको सक्रियता बढेको छ ।
पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री पदबाट हटाउन भारतको राज्य संयन्त्र र केही नेपालका नेताहरूसमेत लागिपरेको भन्ने अभिव्यक्ति दिएपछि पार्टीभित्रैबाट ओलीको राजीनामाको माग उठेको छ, जसका कारण नेकपाका दुबै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच दुरी बढ्दै गइरहेको छ । यसैबीच सत्तारूढ दल नेकपाका नेताहरूसँग राजदूत याङ्छीको भेटवार्ता बढ्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
पार्टीभित्रको आन्तरिक द्वन्द्वका कारण फुटको संघारमा नेकपा पुगेको विश्लेषण भइरहेको बेला पुनः राजदूत याङ्छीको सक्रियता देखिएको हो । गत वैशाखमा विभाजनको संघारमा पुगेको नेकपालाई बचाउन सफल याङ्छी नेकपाको वर्तमान समस्यालाई हलगर्न जुटेकी छन् । आइतबार उनले नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपाललाई भेटेर नेकपाभित्रको पछिल्लो घटनाक्रमबारे चासो राखेको बताइएको छ ।
चिनिया राजदूतको सक्रियता र प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले टिप्पणी गरेका छन् । उनले भनेको छन् ‘पूर्वाग्रहबाट माथि उठौं । विगतमा सबैबाट गल्ती भएका छन्।गल्तीबाट पाठ सिकौं,आत्मालोचना गरौं।बाह्य हस्तक्षेप विना राष्ट्रियता र प्रजातन्त्र बलियो हुने नेपाली परिवेश अनुकूल मौलिक प्रजातन्त्रको निर्माण गरौं ।कसैले जित्ने,कसैले हार्ने होइन, सबै नेपालीले जित्ने व्यवस्था स्थापित गरौं ।’
उनले अगाडि थपेका छन् ‘प्रम ओली भन्नुहुन्छ,– सरकार गिराउन भारतीय राजदूत सक्रिय भए।अर्कोतर्फ चिनिया राजदूत सरकार बचाउन नेताहरूको घर पुग्छिन । के यस्तै रिमोट कन्ट्रोलबाट चल्ने लोकतान्त्रिक गणतन्त्रले नेपालको हित गर्छ ? राष्ट्रियता जोगाउन सक्छ ? स्वाभिमान र निर्णायकत्व गुमाएको व्यवस्थाले देश बचाउन र बनाउन सक्दैन ।’
नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरूङले याङ्छी सक्रियतालाई विदेशी हस्तक्षेप भएको जनाउँदै ट्वीटमा लेखेका छन्–‘कांग्रेसको वर्तमान रोडम्याप कांग्रेसकै महाधिवेशन हो। कांग्रेसलाई देखाएर नेकपाका नेताहरूले आपसी झगडा बल्झाउने र एकले अर्कोलाई तर्साउने नगरे हुन्छ। सकेसम्म आफैं मिल्नुस् । नसके चिनियाँ राजदूतको दौडधुप त चलेकै देख्छु । चिनियाँ राजदूतको हस्तक्षेपले क.हरूको राष्ट्रियता त दुख्दैन होला नि !’
त्यसैगरी, राजदूतको सक्रियतालाई लिएर साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले ट्वीट गर्दै भनेका छन् ‘जनताले लोकतन्त्र ल्याए । नेताले जनतालाई दलको ओत नलागी सामान्य जीवन निर्वाह गर्न नसक्ने कार्यकर्ता बनाए । चुनाव जिते। सत्ता भागबण्डाको किचलो झिके। लाजै नमानि विदेशी राजदूतको साथ खोजे । नेताले हरेक हिसाबबाट मुलुकलाई तन्नम बनाए। यति कुरा त प्रष्टै छ । अब जनताले के गर्ने? आफैँलाई सोधौं ।’
