तीन दिन लगातार भारी वर्षाको सम्भावना

आजदेखि तीन दिनसम्म वर्षाको मात्रा निकै बढ्ने मौसमविद्ले अनुमान गरेका छन् । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले विहीबार बिहान दिएको जानकारीअनुसार दक्षिण भारतीय क्षेत्रमा रहेको मनसुनको न्यून चापीय रेखा उत्तर अर्थात् नेपालतर्फ नजिकिएकाले कम्तीमा अबका तीन दिन लगातार वर्षा हुने सम्भावना देखिएको हो।

‘पानी त पहिलादेखि नै परिरहेको छ, तर पनि अबको तीन दिन मनसुन सक्रिय हुने देखिएको छ,’ मौसमविद् पौडेलले भने, ‘जसले गर्दा वर्षा अझ बढ्ने र कतिपय स्थानमा दुई–तीनसम्मै नउघ्रिएर झरी परिरहने सम्भावनासमेत छ।’



उनका अनुसार न्यून चापीय रेखा जति नेपालतर्फ नजिकिँदै जान्छ, त्यति नै यहाँ वर्षाको मात्रा बढ्दै जान्छ। यसआधारमा आजदेखि नेपालमा यसअघि भइरहेको वर्षाभन्दा अलि लामो समय र ठूलो वर्षा हुने अनुमान छ। ‘प्रदेश १ देखि ५ सम्म रातभर पानी परेको छ,’ उनले भने, ‘अहिले पनि प्रदेश १ देखि कर्णाली प्रदेशसम्म वर्षा भइरहेको छ।’

मौसमविद् पौडेलका अनुसार आजबाट झन् वर्षा बढ्ने सम्भावना छ। ‘न्यून चापीय रेखा अझ नेपालतर्फ नजिकिँदै छ,’ उनले भने, ‘भोलि र पर्सि अझ बढी वर्षा हुने सम्भावना छ।’ उनका अनुसार न्यून चापीय रेखा खासगरी भारतसँग सीमा जोडिएका नेपालका क्षेत्रमा नजिकिएकाले आगामी तीन दिन विशेषगरी तराईमा व्यापक वर्षा हुने सम्भावना छ।

‘तर पहाडमा पनि पानी त पर्छ, यसअघिकै वर्षाले देशका धेरै स्थानमा जमिन गलिसकेकाले थोरै वर्षा हुँदासमेत पहिरो जाने, बाढी आउने तथा पानीरढलको राम्रो निकास नभएका स्थानमा डुबान हुनेजस्ता विपद् आउने सम्भावना छ,’ उनले भने, ‘त्यसैले सबैले विशेष सतर्कता अपनाउन जरुरी छ।’

सम्बन्धित समाचार