नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ असार ।

सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन र ट्याक्सी चल्न दिने निर्णय गरेको छ । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।
सरकारका प्रवक्ता समेत रहेका डा. युवराज खतिवडाले बिहीबारको नियमित पत्रकार सम्मेलनमा कोभिड–१९ का सन्दर्भमा थप निर्णय गरेको भन्दै यसबारे जानकारी गराएका हुन् । त्यसक्रममा उनले काठमाडौ उपत्यकामा सुरक्षाका मापदण्ड अपनाएर सार्वजनिक सवारी साधान संचालन गर्ने निर्णय गरेको जनाकारी गराएका हुन् ।
गत चैत्र ११ गतेदेखि मुलुकमा कोरोना संत्रासका कारण लकडाउन घोषणा गरिएको थियो । लकडाउन घोषा गरिए लगत्तै सार्वजनिक सवारी साधनलगायत ट्याक्सी घरेलु तथा अन्तर्राष्टिय उडान बन्द भएका थिए । यातायत व्यवसायीहरुले आफू ठूलो मारमा परेको भन्दै सार्वजनिक यातायात चलाउन पाउनुपर्दछ भन्दै सरकारमाथि दबाब दिंदै आएका थिए ।
