जी न्युजका प्रधानसम्पादक सुधीरले आफ्नो ट्वीट हटाउँदै मागे माफी

भारतीय टेलिभिजन च्यानल जी न्युजका प्रधान सम्पादक सुधीर चौधरीले नेपालीहरुसँग माफी मागेका छन् । सुधीर चौधरीले नेपाली समय अनुसार राती ९ः१५ बजे डीएनए नामक समाचार सम्बन्धी कार्यक्रम चलाउँदै आएका छन् ।

जी न्युजको बिहार–झारखण्ड संस्करणले प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत होउ यान्छीको चरित्रहत्या गर्ने उद्देश्य स्वरुप भिडियो स्टोरी प्रशारण गरेपछि केही नेपाली डिटिएच र केबल अपरेटरहरुले भारतीय न्युज च्यानल प्रशारण बन्द गरेका थिए । त्यसपछि सुधिरले ट्वीट गर्दै नेपालीहरु भारतीय समाचारवाचकहरुसँग डराएको प्रतिक्रिया दिएका थिए । भारतले नेपाललाई अहिलेसम्म कुनै कारवाही नगरेको भन्दै उनले धम्कीको भाषा पनि बोलेका थिए ।



नेपाल र भारतबीच सीमा विवाद भइरहेको बेला सुधिरले ‘डिएनए’ भन्ने कार्यक्रममा दुवै देशको सेनाको अवस्था तुलना गरेर द्वन्द्व भए नेपालको अवस्था कमजोर हुने प्रतिक्रिया समेत दिएका थिए ।

बिहिवारको ट्वीटमा उनले सेना परिचालन हुने अवस्था नै नआइकन नेपाल समाचारवाचकहरुसँग डराएको अभिव्यक्ति दिएका थिए । उनको त्यो ट्वीटलाई लिएर नेपालमामात्र नभइ भारतमा पनि विरोध भयो । भारतीयहरुले मोदी सरकार टिकटकसँग डराएको भन्दै उनको आलोचना गर्न सुरु गरे । सुधिरले संचालन गर्दै आएको कार्यक्रमलाई भारतमै राम्रो मानिदैन । उनले प्रशारण गर्ने कन्टेन्टहरु प्रो मोदी हुने भएकाले धेरैले आलोचना गर्दै आएका छन् । त्यसैले भारतीयहरुले नेपालमामात्रै नभइ भारतमा समेत जी न्युजसहितको भारतीय न्युज च्यानल प्रतिबन्ध लगाउनुपर्ने भन्दै सुधिरलाई ट्वीटको उत्तर दिएका थिए ।

‘यस ट्वीटबाट हाम्रा नेपाली दर्शकलाई आहत भएको छ। यो मञ्च अभिव्यक्ति दिनका लागि हो कसैलाई आहत बनाउन होइन। यसैले म खेद व्यक्त गर्दै उक्त ट्वीट हटाउँदैछु,’ उनले लेखेका छन् ।

लगत्तै सुधीरले नेपालीहरुलाई अपमानजनक शब्द प्रयोग गरेर गरेको ट्वीट हटाएका छन् ।

सम्बन्धित समाचार