नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ असार ।

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद पछिल्लो समय उत्कर्षमा पुगेको राजनीतिक वृत्तमा विश्लेषण भइरहेको छ । गत असार १० गतेबाट सुरू भएको नेकपाको स्थायी कमिटीको पाचौं बैठक यतिबेला बैठकले तय गरेका एजेण्डाभन्दा बाहिर गएको छ । ‘सरकारले नेपालको नयाँ नक्सा जारी गरेपछि आफूलाई प्रधानमन्त्री पदबाट हटाउन भारतीय राज्य संयन्त्र र नेपालकै केही नेताहरू लागि परेका’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिपछि नेकपाको स्थायी कमिटी बैठक प्रभावित हुँदै गएको छ । शुक्रबारका लागि तय भएको नेकपा स्थायी कमिटी बैठक फेरि साउन २ गतेसम्मका लागि स्थगित भएको छ ।
यसैबीच पार्टीभित्रको आन्तरिक कहललाई सङकेत गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले कम्युनिष्ट हुनका लागि आलोचनात्मक र क्रान्तिकारी हुनुपर्ने बताएका छन् । शुक्रबार दिउँसो ट्वीट गर्दै प्रवक्ता श्रेष्ठले सत्य, न्याय, देश, श्रमजीवी वर्ग र जनताको पक्षमा उभिन आग्रह गरेका छन् । पछिल्लो समय पार्टीभित्र प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली स्वेच्छाचारी र एकलौटी ढङ्गले अघि बढिरहेको कुरालाई सङ्केत गर्दै प्रवक्ता श्रेष्ठले व्यक्तिवादको नभई पद्दति र सामुहिकताको पक्षमा उभिन आग्रहसमेत गरेका छन् ।
उनले ट्वीटमा लेखेका छन् ‘कम्युनिष्ट हुन आलोचनात्मक र क्रान्तिकारी होऊ । तथ्यबाट सत्य पत्ता लगाऊ । सत्य, न्याय, देश, श्रमजीवी वर्ग र जनताको पक्षमा उभिऊ । व्यक्तिवाद होइन, पद्दति र सामुहिकताको पक्ष लेऊ । स्पष्ट र खुला होऊ, छलछाम होइन । आफ्नै टाउको हल्लाऊ र विवेक प्रयोग गर । अन्धता र स्वार्थ केन्द्रित दासत्व घातक विष हो ।’
