चलचित्रकर्मी यो क्षेत्रबाट पलायन नहोउन् भन्नेमा सचेत छौंः आकाश अधिकारी

विगत २५ वर्षयता नेपाली चलचित्र क्षेत्रमा अनवरत लागिरहेका आकाश अधिकारी आफूलाई चलचित्र निर्देशकको रूपमा चिनाउन चाहन्छन् । त्यसो त उनी हाल नेपाल चलचित्र निर्माता संघको अध्यक्षसमेत रहेका छन् । साथै उनी नेपाल उघोग बाणिज्य महासंघको केन्द्रीय कार्यसमिति सदस्य पनि रहेका छन् । कोरोनाको कारण थलिएको चलचित्र क्षेत्रलाई उठाउन सरकारको पनि सहयोग चाहिने बताउँदै आएका अधिकारीले चलचित्रकर्मीलाई यो क्षेत्रबाट पलायन हुनबाट बचाउन लागिपरेको बताए । कोरोनाको असर साम्य भएपछि भने नेपाली चलचत्रि क्षेत्र जुमुर्राएर अगाडि बढ्ने भन्दै उनले चलचित्रकर्मीहरूलाई निराश नहुन आग्रहसमेत गरेका छन् । उनै निर्देशक, निर्माता, कलाकार तथा निर्माता संघका अध्यक्ष अधिकारीसँग कोरोनाको कारण चलचित्र क्षेत्रमा परेको असर र अबको यात्राका बारेमा नवकान्तिपुर डट कमले गरेको कुराकानीको सम्पादित अंश :

कोरोना भाइरसले चलचित्र क्षेत्रलाई पारेको असरलाई कसरी हेर्नुभएको छ ?
कोरोना भाइरसको असर नेपालमा मात्र नभएर विश्वका अधिकांश देशहरूमा परेको छ । नेपालको हकमा पनि तत्कालको अवस्था हेर्दा चलचित्र क्षेत्र तुलनात्मक रूपमा धेरै प्रभावित छ । त्यसका केही कारणहरू पनि छन् । जस्तो चलचित्र हेर्नलाई भवनभित्र आएर बस्नुपर्ने, छायाँङ्कन गर्न जाँदा पनि धेरै ठूलो टिम लिएर हिड्नुपर्ने र महामारीको बेलामा मनोरञ्जन नेपालीको प्रथमिकतामा नपर्ने कारण पनि यो क्षेत्र अन्य क्षेत्रभन्दा लामो समय प्रभावित हुने अनुमान छ । गाँस, बास, कपास र शिक्षापछि बल्ल मनोरञ्जन क्षेत्र प्राथमिकतामा पर्दछ । त्यसकारण कोरोनाको प्रभाव सामान्य भैसकेपछि पनि दर्शक हलमा आउन केही समय कुर्नुपर्ने हुनसक्छ ।



त्यसो त हामी चलचित्रकर्मी राष्ट्रका गहना भन्दछौं । यो कला संस्कृति, भेषभूषा र सभ्यता बोकेको क्षेत्र हो । तर अहिले हामी अति मारमा परेका छौं । कोरोनाको कारण जब देशमा लकडाउन भयो, तब हामीले बारम्बार सरकारसँग विभिन्न माग गर्दै पनि आएका थियौं । नेपाल चलचित्र निर्माता संघले पटकपटक सम्बन्धित निकायसँग बजेट आउनुभन्दा अगाडि हामीले चलचित्र विकास बोर्ड, सूचना सञ्चार तथा प्रविधि मन्त्रालय, अर्थ मन्त्रालय मार्फत हामीले आफ्ना समस्या सम्बोधनको लागि दवाव दिंदै आयौं । निर्माण भैसकेको झण्डै २६–२७ वटा चलचित्रहरू प्रदर्शनमा आउन पाएका छैनन् । उनीहरूको लगानी त्यहाँ फँसेको छ । उनीहरूलाई बंैक ब्याज मिनाहको व्यवस्था गर्न आग्रह गरेका छौं । सिनेमा भवन तत्काल खोल्ने स्थिति छैन । चलचित्र प्रदर्शनमा ल्याउदा पनि केही समय दर्शक हलसम्म जाँदैनन् । यही स्थितिमा चलचित्र प्रदर्शनमा ल्याउँदा लगानी उठाउने सम्भावना देखिँदैन । त्यसैले चलचित्र क्षेत्रलाई कोरोना प्रभाव नसकिँदासम्म कर छुटको व्यवस्था गर्न हामीले सरकारसँग माग पेश गरेका छौं ।

साथै, जति पनि लोनका कुराहरू छन्, असार मसान्त आइसक्यो । अहिलेसम्म हाम्रो व्यवसाय, उद्योग धन्दा केही पनि चलेको छैन । हामी यो असार मसान्तसम्ममा कहाँबाट कसरी ल्याएर लोन तिर्ने ? त्यसैले कमसेकम पुसमसान्तसम्म लोन तिर्दा हुने व्यवस्था मिलाउन हाम्रो आग्रह छ । चलचित्र क्षेत्रलाई कमसेकम दुई वर्ष ‘ट्याक्स फ्रि जोन’ घोषणा गरियोस् भन्ने हाम्रो सरकारसँग माग रहन्छ । हामीहरूले यस्ता थुप्रै प्रस्ताव सरकारसँग लिखित रूपमैं पेश गरेका छौं

यी कुराहरू त सरकारसँग निर्भर रहेका कुराहरू भए । त्योसँगै चलचित्रको बजार फरक धारबाट विस्तार गर्न तपाईंहरूको पहल के छ ? जस्तै हलको विकल्प कुनै डिजिटल माध्यमबाट घर घरमा चलचित्र प्रदर्शनमा ल्याउन सकिन्थ्यो होला ?
हाम्रो पहल जारी छ । अहिले चलचित्र विकास बोर्डको अध्यक्षको रूपमा पनि नेपाली चलचित्रलाई राम्रोसँग बुझ्नुभएको दयाराम दाहाल नियुक्त हुनुभएको छ । वहाँको कार्यकालमा चलचित्र क्षेत्रलाई केही रामो हुन्छ भन्ने हाम्रो अपेक्षा छ । चलचित्र निर्मात संघ, कलाकार संघलगायत यस क्षेत्रसँग सम्बन्धित सबै संघ संस्थासँग वहाँले निरन्तर परामर्श लिइरहनुभएको छ ।

लामो समय भयो चलचित्रहरू फ्लोरमा जान सकेका छैनन् । केही चलचित्र निर्माणको लागि तयार हुनुभएको साथीहरू पनि पर्ख र हेरको अवस्थामा हुनुहुन्छ । अहिले निर्माण भएर बसेका सीमित चलचित्र प्रदर्शनमा आएपछि नयाँ चलचित्र बनेन भने त्यसपछि के प्रदर्शन गर्ने ? नयाँ चलचित्र नबने चलचित्रकर्मीको दैनिकी कसरी चल्छ ? यो क्षेत्रको ठूलो जनशक्ति बेरोजगार हुन अवस्था आउन सक्छ । त्यसैले निर्माताहरूलाई चलचित्र बनाउन प्रोत्साहन गर्ने जिम्मेवारी सरकारको पनि हो । हामीले सरकारलाई तत्काल कोरोनाको प्रभाव सामान्य नहुँदासम्म निर्माण हुने चलचित्रको २० प्रतिशत नाफाको ग्यारेन्टी गर्न आग्रह गरेका छौं । हाम्रो माग पूरा भएमा झण्डै ६५ वटा चलचित्र केही दिनमै फ्लोरमा जानेछन् । यो डाटा पनि हामीहरूले चलचित्र विकास बोर्ड र नेपाल सरकारलाई बुझाइसकेका छौ ।

अब तपाईले जुन डिजिटल प्रविधिमार्फत चलचित्र प्रदर्शनको कुरा गर्नु भयो, त्यसमा चलचित्र निर्माता संघको तर्फबाट हामीहरूले आफ्नो अवधारणा अर्थ मन्त्रालयलाई बुझाइसकेको छौं । बजेटमार्फत नै यो विषय सम्बोधन हुनुपर्यो भनेर हामीहरूले अर्थमन्त्रीलाई समेत झक्झक्याएका थियौं । जस्तै नेट फिलिक्सको कुरा गरौं, नेट फिलिक्ससँग मैले इमेलबाट लेख्दाखेरी के आएको छ भने ‘तिम्रो देशमा कोही पनि हाम्रो मेम्बर छैन । त्यसकारणले नेपाली सिनेमा किन किन्ने ? र हामीले किन राख्ने ?’ भन्ने प्रतिप्रश्न आयो । यहाँ नेपालमा अहिले झण्डै जनसंख्याको २० प्रतिशतले नेट फिलिक्समार्फत विदेशी चलचित्र हेरिरहनुभएको छ । तर जसको आफन्त देशभन्दा बाहिर विदेशमा छ वहाँहरूले पठाइदिनु भएको आइडीमा यहाँ बसेर वहाँले चलचित्र हेर्नु भएको छ । त्यसरी हेर्दाखेरी जुन देशको आइडी हो त्यही देशबाट हेरेको देखिन्छ । त्यसकारणले उनीहरूले हाम्रो देश नेपालमा आफ्नो मेम्बरै छैन भनिरहेको छ ।

त्यसकारण नेपाल सरकार तथा अर्थमन्त्रालयलाई हाम्रो आव्हान के छ भने प्रत्येक बैंकले आफ्ना ग्राहकलाई क्रेडिट दिन नसके पनि कमसेकम डेबिट कार्ड दिन पर्यो । डेबिट कार्ड दिन सकेमा डिजिटल कारोबारको लागि सजिलो हुन्छ । कारोबार पनि पारर्दर्शी हुन्छ । पछिल्लो समय विभिन्न सामाजिक सञ्जलहरूमा विभिन्न वस्तुहरूको प्रवद्र्धन गर्न बुष्ट गर्ने प्रचलन छ । त्यसलाई पनि पारदर्शी बनाउन डेबिट कार्डलाई सहज बनाउनुपर्छ । अहिले नेपाल चलचित्र निर्माता संघको आग्रह के हो भने, सबैलाई या त थर्ड पार्टी एक्सेस देऊ या कुनै पनि यस्ता डिजिटल प्लेटर्फममा डाइरेक्ट जनताको पहुँच पुर्याइदेउ । त्यसका लागि सहजीकरण गरिदिनु पर्यो भनेर हामीले नेपाल सरकारलाई ज्ञापनपत्र बुझाइसकेका छौं । डिजिटल प्रविधिमार्फत नेपालमा मात्रै नभएर संसारभरीबाट नेपाली चलचित्र हेर्ने व्यवस्था मिलाउन हामी प्रयासरत छौं ।

तपाईं नेपाली चलचित्र क्षेत्रमा कुनै न कुनै रूपमा जिम्मेवार पदमै रहनुभयो तर पनि अहिलेसम्म डिजिटल प्रविधिमार्फत नेपाली चलचित्रको प्रवर्दन गर्नेखालका ठोस अवधारण ल्याउन त नसक्नुभएको हो नि ? हिजो नै हलको विकल्प सोचको भए आज कति सहज हुन्थ्यो ।
हामी ०७२ सालको भूकम्पपछि नै हलको विकल्प सोच्नुपर्छ भन्नेमा लागिपरेका थियौं । सबै कुरा राज्यसँग जोडिएको हुन्छ । नेपाल चलचित्र विकास बोर्डले मात्र चाहेर केही पनि गर्न सक्दैन । यी कुरा भनेको सूचना सञ्चार तथा प्रविधि मन्त्रालयसँग जोडिएको हुन्छ । त्यसको मातहतमा हामी छौं । लामो समयदेखि चलचित्र क्षेत्र सेवामूलक उद्योगमा थियो । म नेपाल चलचित्र निर्माता संघमा आएदेखि मेरो अग्रसरतामा अहिले चलचित्र क्षेत्रले राष्ट्रिय उद्योगको मान्यता प्राप्त गरेको छ । अब उद्योगको मान्यता पाएपछि राज्यबाट पाउने सेवा सुविधाका कुराहरू आउँछन् । तर सबै कुरा भन्ने बित्तिकै हुँदैन । नीति, नियम, कानुन र ऐन सबैमा परिर्वतन गरेर आउनु पर्ने हुन्छ । हामीले त्यतिखेर भनेको एकएक एजेण्डा लगेर सम्बन्धित मन्त्रालयमा बुझाएका छौं । सिस्टम हुँदैछ भन्ने जानकारी हामीलाई आएको छ ।
जहाँसम्म नेपालमा डिजिटलको छ, अन्तर्राष्ट्रिय स्तरका चलचित्रहरू नेपाली दर्शकहरूले पनि पैसा तिरेरै घरबाट हेरिरहेका छन् । सबै नेपालीलाई इ–पेमेन्ट सहज बनाएर नेपाली दर्शकले सहजरूपमा घरमै चलचित्र हेर्ने वातावरण बनाउनु पर्छ । विस्तारै नेपालीहरूमा घरघरबाटै पैसा तिरेर नेपाली चलचित्र हेर्ने बानी बसाउनु जरूरी छ । सरकारले राष्ट्रिय स्तरबाटै डिजिटल रूपमा घरघरमा चलचित्र प्रदर्शनको व्यवस्था मिलाउन हामीले हाम्रोतर्फबाट खाका पेस गरिसकेका छौं ।

यसो भनिरहँदा तत्काल त चलचित्र क्षेत्रलाई ठूलो नोक्सान हुने देखियो । अब लगानीकर्ताहरू पनि निरूत्साहित हुने भए । लगानी नभएपछि कलाकारहरू पनि पलायन हुने डर हुने भो । यसलाई कसरी मुल्याङ्कन गर्नु हुन्छ ?
तपाईले भनेको कुरा सही हो । मैले बारम्बार मेरा सबै एजेण्डाहरूमा यी कुराहरू पनि लेखेको छु । पहिला नै धेरैभन्दा धेरै राम्रा कलाकारहरू र प्राविधिकहरू यो क्षेत्रबाट पलाएन हुँदै आउनुभएको छ । यो क्षेत्रमा सर्भाइव हुन नसकेर बाध्यताले पनि धेरै चलचित्रकर्मीहरू देश छोड्न बाध्य हुनु भयो । अबको दिनहरूमा पनि त्यस्तो अवस्था सिर्जना नहोस् भनेर हामी सम्बद्ध निकायहरूमा घचघच्याइरहेका छौं ।

सम्बन्धित निकायले त प्रक्रियागत रूपमा हुँदैछ भन्छ । अर्को बजेटमा सम्बोधन गछौं भन्ला । तर असर त तत्काल परिसक्यो । तत्काल चलचित्रकर्मीलाई निराश नबनाउन चलचित्र निर्मात संघले के गर्छ ?
निर्माता संघले आफैमा तत्काल लगानी गरेर बढाउन सक्ने कुरा केही पनि छैन । चलचित्र निर्माता संघले के मागेको छौं भने, यो यो चिज हामीलाई हुनुपर्यो, सरकारबाट यो यो चिजको सुविधा हामीलाई हुनुपर्यो अनि हामी छायाँङ्कनमा जान तयार छौं भनेका छौं । चलचित्र छायांकन सुरू भएपछि त सबै कलाकर्मी व्यस्त हुन्छन् । पलायनको बाटो रोज्दैनन् । अहिले मानौ एक करोड रूपैयाँ लगानी गरेर सिनेमा बनाएको छ भने कम्तीमा २० प्रतिशत राज्यले ग्यारेण्टी गर्दिओेस् । अनि बाँकी ८० प्रतिशत रिस्क लिन हामी तयार छौं। दोस्रो कुरा यो क्षेत्रलाई माथि उठाउन तत्काल केही गर्न नसके पनि राज्यका सम्बन्धित निकायल नेपाली चलचित्रको पब्लिसिटी गर्दिओस् । किनभने पब्लिसिटीको त क्यास पैसा हो, यत्रो दिनबाट सिनेमा बनाएर हामी डुबिरहेका छौं, कति साथीहरू ब्याजमा डुबिरहनु भएको छ, अनि त्यसैमाथि पब्लिसिटीको लागि खर्च गर्नुपर्दा समस्या हुन्छ । भोलि दर्शक हलमा आइदिएनन् भने त आफ्नो लगानी त डुब्यो डुब्यो, अब फेरि पब्लिसिटी गरेको पैसा पनि खेर जान्छ । यसलाई सहज बनाउने जिम्मेवारी राज्यको हो ।

तपाईले लगानीको २० प्रतिशत राज्यले ग्यारेण्टी गर्दिनु पर्यो बाँकी ८० प्रतिशत रिस्क लिन हामी तयार छौं भन्नु भयो । यसलाई अलि खुलाइदिनुहोस् न ।
लगानीको करिब २० प्रतिशत सरकारले ग्यारेण्टी गदिर्नु पर्यो र भन्नु पर्यो हामी यो तिमीलाई उपलब्ध गराउँछौं । सिनेमा हलमा सिनेमा रिलिज गर, तिम्रो लगानी उठे पनि नउठे पनि २० प्रतिशत बराबरको सेवा हामी तिमीलाई दिन्छौं भन्नु पर्यो । त्यस्तो भएको खण्डमा ८० प्रतिशत रिस्क लिन निर्माताहरू तयार हुन्छन् । होइन भने तत्काल सिनेमा रिलिज हुँदैन । लामो समय चलचित्र प्रदर्शनमा आएन भने अघि तपाईले भनेजस्तो कलाकर्मी यो क्षेत्रबाट पलायन हुन्छन् । भोलि कोरानाको महामारी सक्किएर समान्य भइसक्दा पनि प्रदर्शन गर्ने चलचित्र पनि नपाएपछि हलहरूले पनि विकल्प सोच्न सक्छन् । झनै विकराल रूप आउन सक्छ । त्यसैले सरकारले २० प्रतिशत ग्यारेन्टी गरेर चलचित्र बन्ने वातावरण बनाउनु पर्यो भन्ने हाम्रो माग हो ।

कोरोनाकै कारण सरकारको ढुकुटी पनि रित्तिदै गएको अवस्थामा सरकारले तपाईको मागलाई सम्बोधन गर्ने सम्भावना कत्तिको देख्नुहुन्छ ?
हामीले धेरै भनेको छैन, यो क्षेत्र चलाएमान नहुँदासम्मको लागि मात्रै भन्न खोजेका हौं । हुन सक्ला सिनेमा भवनमा दर्शक  आफ्नो सावधानीपूर्वक आउनेबेलासम्म, तीन महिना हुनसक्ला अथवा ६ महिना, वर्ष दिन नै हुन सक्ला । ट्याक्स फ्रि अथवा व्याज घटाइदेऊ । कम्तिमा पनि २ वर्षसम्मको लागि व्याजलाई पुनः ऋणमा परिणत गरिदेऊ । तर तत्काल राज्यले ग्यारेण्टी दिएर सिनेमा रिलिज गर, हामी छौं भन्न सक्नुपर्यो । हामीले त्यो पनि लामो समयसम्म नभए पनि सिनेमालाई चलाएमान गर्नका लागि ६ महिनासम्मको लागि सानो रकम मागेको हो ।

चलिचत्र क्षेत्रमा ३०–३२ हजार मानिस प्रत्यक्ष आबद्ध छन् । आश्रित जनसंख्या झण्डै १ लाख ७० हजारको हाराहारीमा छन् । चलिचत्र नै बनेनन् भने सरकारले भालि उनीहरूकाे व्यवस्थापन कसरी गर्छ ? चलचित्र उद्योगलाई चलाएमान गराएन भने ती जनताहरूको अवस्था भोलि के हुन्छ ? धेरै मजदुर साथीहरू हुनुहुन्छ, जसले त्यहीबाट रोजीरोटी घरर्खच चलाइरहनु भएको छ । बच्चाबच्ची पढाइरहनु भएको छ । काठमाडौंमा डेरा लिएर बस्नु भएको छ । त्यस्ता व्यक्तिको स्थिति भोलि के हुन्छ ? त्यसैले गर्दा यो क्षेत्रलाई चलाएमान गराइदिनुहोस् । हामीलाई सानो फ्यासिलिटी दिनुहोस्, हामी ठूलो योगदान दिन तयार छौं । आज हामीलाई अप्ठ्यारो परेको छ, थोरै सहयोग गरेको खण्डमा भोलि हामी ट्याक्स पनि त तिर्छौं । बक्स अफिस बनेको छ, ट्याक्स त तिरिरहेका छौं । बरू त्यो ट्याक्सको दायरालाई  कसरी हुन्छ ट्रान्सपरेन्सी र निट एण्ड क्लिन गरौं । नेपाली चलचित्र उद्योगले कला, संस्कृति, भेषभूषाको जर्गेना गरेर राज्यलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाइरहेको छ । यसको संरक्षण गर्ने दायित्व राज्यको पनि हो ।

कोरोनाको प्रभाव कहिलेसम्म रहन्छ भन्ने त कुनै अनुमान गर्न सकिएको छैन । तर पनि अहिलेको वस्तुस्थितिलाई मूल्याङ्कन गर्दा कोरोनाको प्रभाव कम हुँदै गएमा तपाईले कहिलेसम्म हल सञ्चालन हुने वातावरण बन्छ भन्ने देख्नुहुन्छ ?
कोरोनाको प्रभाव कम हुँदैमा हल सञ्चालन भैहाल्छ भन्ने पनि होइन । सरकारले त निश्चित प्रतिशत दर्शक राखेर हल सञ्चालन गर्न अनुमति देला तर मुख्य कुरा दर्शक हलमा आउनु पर्यो । हल खोलेपछि दर्शक आएनन् भने हलवालाहरूको नियमित खर्च, बिजुली, पानी, सरसफाई र कर्मचारीको तलब पनि हलबाट उठेन भने त त्यहाँ पनि समस्या हुन्छ । त्यसैले राज्यले निर्माता र हलवालाहरूसँग बसेर एउटा प्याकेज तयार गरेर अगाडि बढ्नुपर्छ ।

त्यसो भए हल सञ्चलनमा पनि राज्यको भर पर्नुपर्ने देखियो ?
धेरै कुराहरू हलको साथीहरूले पनि आ–आफ्नो मागहरू सरकारलाई बुझाउनु भएको छ । हामीले हाम्रो हकमा अहिले तत्काल निर्माताहरूलाई कसरी सुरक्षित गर्न सकिन्छ । यो इण्डस्ट्रिजलाई चलाएमान कसरी बनाउन सकिन्छ भन्नेमा लागि परेका छौं । पुनः चलचित्र छायाँङ्कनमा जान सके पनि धेरैभन्दा धेरै हाम्रा कलाकार टेक्निसिएन साथीहरू गीत, सङ्गीत स्रष्टा सबै जना फेरि काममा फर्कन सक्नु हुन्छ भन्ने हाम्रो आशा छ । त्यसरी नै हल सञ्चालकहरू पनि कसरी दर्शक हलसम्म आउँछन् भन्नेमा लागि पर्नुभएको छ ।

पछिल्लो समय चलचित्र क्षेत्रमा महानायक राजेश हमालको खासगरी ‘महानायक’ उपाधिलाई लिएर विभिन्न टिकाटिप्पणीहरू भइरहेका छन् । यसलाई तपाईले कसरी लिनु भएको छ ?
महानायक राजेश हमालले लामो समयदेखि फिल्म इण्डस्ट्रिजलाई चलाएमान बनाए । उनको योगदान कै कारण महानायकको उपाधि पाएका हुन् । शिव श्रेष्ठले एक्सन नायकको पद पाउँनु भएको छ, भुवन केसीलाई सदावहार नायक भनिन्छ । यो वहाँहरूले आफ्नो योगदानको फल पाउनुभएको हो । हामीले सधै अग्रजहरूको सम्मान गर्नुपर्छ । मलाई यस्तो लाग्दैन की दीपाश्री निरौलाजीले सम्मान नगरेर बोल्यो होला भनेर । वहाँ पनि चलचित्र क्षेत्रलाई राम्रोसँग बुझेको व्यक्ति हुनुहुन्छ । तर मैले पनि पूरा इन्टरभ्यु हेरेको छैन । मिडियामै पढेको भरमा बोलिरहेको छु । अवश्य पनि राजेश हमालजी महानायक नै हुन् । त्यसलाई दर्शकलगायतका कलाकारहरूले पनि स्वीकारेका छन् ।

मलाई के लाग्छ भने, म पनि त आज भन्दा २५–२६ वर्ष अगाडि फिल्म इण्डस्ट्रिजमा आउँदा त नयाँ नै थिएँ नि । हामी अरू कसैले बनाएको मार्गदर्शनमा हिँडेको हौं । हामी फिल्म मेकर भनेको सधैं विद्यार्थी हौं । हामी शिक्षक हुन बहुत् गाह्रो हुन्छ, किनभने हामी धेरै कुराले पछाडि छौं । भारतभन्दा झण्डै ५६–५८ वर्ष पछाडि छौं। परिर्वतन ल्याउने भनेको समयले हो, समय सबैभन्दा ठूलो कुरा हो । समयले नै हामीलाई सिकाउने हो । सबै समयको माग हो, त्यसैले हामी कोही भन्दा कोही माथि छैनौं । जसको जसको योगदान छ सबैको योगदानको कदर गर्नु पर्छ ।

योसँगै अर्को कुरा भुवन केसी र साम्रज्ञी शाहबीच पनि विवाद चलिरहेको छ । साम्राज्ञीले अदृश्य उत्पीडनको आरोप लगाइरहनुभएको छ । चलचित्र क्षेत्रमा यस्ता विवादहरू किन आइरहन्छन् ?
यो विषय त केही दिन अगाडि सुल्झिएको छ । दुबै पक्षले एकआपसमा अब यस्ता कुराहरू नगर्ने भनेर प्रतिवद्धता जनाउनुभएको छ । यो विषयमा म एउटा मात्र कुरा के भन्न चाहान्छु भने, कोही पनि शोषित, पीडित र समस्यामा पर्नु हुँदैन । कसैले पनि कसैमाथि तथ्य सत्यमा आधारित भएर मात्रै बोल्नु पर्छ । र कोही पीडित छ भने उसले न्याय पाउनुपर्छ ।

यो विषय अहिले सुल्झे पनि यस्ता घटनाहरू भोलि पनि त दोहोरिन सक्छन नि ?
हो, दोहोरिन सक्छन्, तर अहिलेको बेलामा कसैले पनि अन्याय किन सहने ? कसैमाथि कसैले दुव्र्यवहार किन गर्ने ? यो पेशालाई हामीले निट एण्ड क्लिन गरेर जानुपर्छ । सबैले आ–आफ्नो काम गर्ने हो र आ–आफ्नो पेशामा इमान्दार भएर लाग्ने हो । यस्ता किसिमका कुनै दुर्घटना नै नघटोस् भन्ने कुरा म सम्पूर्ण यस क्षेत्रका साथीहरूलाई आग्रह र अनुरोध गर्दछु । तर कहीं त्यस्तो भयो भने कसैले कसैसँग डराउनु पर्दैन, सहनुपर्ने छैन । कहीं त्यस्तो अप्ठ्यारो पर्यो भने साथीसङ्गीसँग अथवा आफैं कुरा बाहिर निकाल्नुहोस्, संघसंस्थामा आएर ती कुराहरू राख्नुहोस् । कतै आउन मन लागेन भने पनि कानुन छ । त्यसैले कसैमाथि भ्रमित कुरा पनि संप्रेषित नहोस् । यो फिल्म इण्डस्ट्रिजको गरिमा तल झार्ने काम कसैबाट नहोस् ।

पछिल्लो समयमा बलिउडमा नायक सुसान्त सिंहको आत्महत्यापछि बलिउड चलचित्र क्षेत्रमा परिवारवाद हावी भो भन्ने विषय चलिरहँदा नेपालमा पनि त्यो किसिमको बहस चलिरहेको छ । के तपाई नेपाली चलचित्र क्षेत्रमा पनि त्यस्तो देख्नुहुन्छ ?
नेपाली चलचित्र क्षेत्रमा म त त्यस्तो छैन नै भन्छु । बलिउडमा केही छ, त्यो छुट्टै कुरा हो  । हाम्रो नेपाली चलचित्र क्षेत्रमा त्यस्तो देखिदैन । जस्तै म डाक्टर हुँ भने मेरो छोरालाई त्यो डाक्टर सम्बन्धिको धेरै कुरा थाहा हुन्छ । चलिचत्रकर्मीका सन्तानले चलिचत्रका बारेमा धेरै बुझेका हुन्छन् । त्यसैले उनीहरू यो क्षेत्रमा आउन सक्छन्। यो क्षेत्रमा नातावाद कृपावादले गर्दा आउन सजिलो त होला तर टिकिरहने त आफ्नै क्षमताले हो नि । आफूसँग क्षमता छ भने त सोसल मिडियाबाटै पनि अहिले कतिपय मानिस स्टार भइरहेका छन् । त्यसैले यो विषय बहसमा ल्याउनु पर्ने कुरा जस्तो मलाई लाग्दैन ।

अन्तमा यो कोरोनाको कहरका बीच तपाईको सन्देश के छ ?
कोरोनाले निम्त्याएको यस्तो संकटको बेलामा मेरो यति लस भयो, म डुब्ने भएँ भन्ने नसोच्नुहोस् । सर्भाइव कसरी हुन्छ त्यसमा लागौं । हामीले यस्तो बेला आत्तिनु हुँदैन । समस्यासँग डराएर कतिपयले आत्माहत्या गरेका समाचारहरू आइरहेका छन् । यो गलत छ । यतिखेर सबैलाई समस्या परेको छ, तर धैर्यता गर्नुपर्छ र आफू जे गरिरहनु भएको छ त्यसको पनि अप्सन खोज्नु पर्छ । त्यसैले हिम्मत गर्नुपर्छ, कुनैपनि चिजको अगाडि हार होइन जित हुन्छ । हामीले विगतमा भुकम्प र नाकाबन्दी पनि झेल्यौ । यो कोरोना त नेपालमा मात्रै होइन विश्वव्यापी छ । समयले ल्याएको चिज हो यो, एकदिन अवश्य पनि साम्य भएर जान्छ ।

अर्को कुरा म चलचित्रकर्मी भएको नाताले र निर्माता संघको अध्यक्षको नाताले चलचित्रकर्मीलाई के आग्रह गर्छु भने– ‘कोरोना साम्य भएपछि नेपाली चलचित्रको भविष्य सुन्दर छ । हतोत्साहि नहुनुहोस् । कोरोनाकै कारण झण्डै १० लाख नेपालीहरू फेरि विदेश नजाने गरी नेपाल आउँदै हुनुहुन्छ भन्ने सरकारी तथ्यांक छ । वहाँहरू नेपाली चलचित्रको दर्शक हुनुहुन्छ । हामी हाम्रो कर्म गर्न नछोडौं, चलचित्र क्षेत्र फेरि एकपटक जुर्मुराएर अगाडि बढ्ने छ ।’

सम्बन्धित समाचार