सरकारले राहत उपलब्ध गराउनुपर्ने निजी विद्यालयहरूको माग

रूपन्देहीका निजी विद्यालय सञ्चालकहरूले आफ्ना शिक्षक कर्मचारीलाई तलब खुवाउन समस्या भएको भन्दै सरकारले राहत उपलब्ध गराउनुपर्ने माग गरेका छन् । कोरोना महामारीका कारण विद्यालय लामो समयसम्म बन्द भए पछि शुल्क नउठेकाले शिक्षक कर्मचारीलाई तलब खुवाउन नसकिएको भन्दै साउनदेखि विद्यार्थी भर्ना गर्न र शुल्क उठाउन दिनुपर्ने मागसमेत उनीहरूले गरेका छन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) रूपन्देहीले शुक्रबार स्थानीय तहका सरोकारवालासँग गरेको अन्तरक्रियामा उनीहरूले कोरोना संक्रमण फैलिन नदिने स्वास्थ्य सुरक्षा उपाय अपनाएर साउन १ देखि भर्ना खोल्न पाउनुपर्ने माग गरेको हो । शैक्षिक सत्रको १२ महिनामध्ये १० महिनाको शुल्क लिन पाउनुपर्ने र शिक्षक कर्मचारीलाई ११ महिनाको तलब दिन आफूहरू तयार रहेको प्याब्सनको भनाई छ । यसका लागि सरकारले औपचारिकरूपमा मार्ग प्रशस्त गरिदिनुपर्ने प्याब्सन रूपन्देहीका अध्यक्ष लेखनाथ पौडेलले बताए । चैतदेखि विद्यालय बन्द भएकाले वैशाखमा शुरू हुने नयाँ शैक्षिक सत्रको लागि विद्यार्थी भर्ना गर्न नपाउँदा शिक्षक कर्मचारीलाई तलब खुवाउन समस्या भएको र शिक्षकहरू आन्दोलित हुन थालेकाले भर्ना शुरू गर्न पाउनुपर्ने अध्यक्ष पौडेलले माग गरे ।



‘शुल्क उठाउन नपाउंदा रूपन्देहीमा मात्रै २ सय ७० बढी निजी विद्यालयका करिब ६ हजार शिक्षक कर्मचारी तलब खान नपाएर आर्थिक समस्यामा परेका छन्’ अध्यक्ष पौडेलले भने– ‘सरकारले लकडाउन मात्रै बढायो, यसको मारमा परेका वर्ग र समुदायका समस्याबारे मौन बस्यो ।’ रूपन्देही जिल्लाका निजी विद्यालयहरूमा मात्रै करिब ६५ अर्ब रूपैयाँं लगानी रहेको उनले बताए ।

अन्तरक्रियामा एनप्याब्सन रूपन्देहीका अध्यक्ष पुरूषोत्तम बस्यालले लकडाउनका कारण विद्यालय क्षेत्रमा सिर्जित समस्या समाधानमा सरकार उदासीन रहेको गुनासो गरे । अनलाइन कक्षा सञ्चालन गर्न सबै विद्यार्थी इन्टरनेटको पहुँचमा नभएका र विद्युत आपूर्ति पनि नियमित नहुने हुँदा अनलाइन कक्षा प्रभावकारी नभएकाले साउनदेखि विद्यालय सञ्चालन गरेर सुरक्षित ढंगले दिनमा तीन सिफ्टमा भए पनि पढाई सुचारू गर्नुपर्नेउनले माग गरे । अन्तरक्रियामा हिसान नेपालका निर्देशक प्राध्यापक डा. रामचन्द्र आचार्यले सरकारले अभिभावकीय भूमिका निर्वाह गरेर यथाशीघ्र विकल्प दिनुपर्ने बताए । उनले विद्यालयहरूले पनि जगेडा कोष स्थापना गर्नुपर्ने पाठ कोरोेना महामारीले सिकाएको बताए ।

कार्यक्रममा सैनामैना नगरपालिका शिक्षा शाखा प्रमुख हेमराज अर्याल, सिद्धार्थनगरका शिक्षा शाखा प्रमुख चेतनशील लम्साल, बुटवल उपमहानगरपालिकाका शिक्षा शाखाका शाखा अधिकृत टीकाराम पन्थीले कोरोना संक्रमणको दर घट्दै गएकाले संभवतः भदौदेखि विद्यालय सञ्चालन गर्न सकिने बताए । स्वास्थ्य सुरक्षा पहिलो प्राथमिकता भएकाले अब एक महिना धैर्य गर्नुपर्ने उनीहरूको सुझाव थियो ।

प्याब्सनका केन्द्रीय सल्लाहकार लोकनाथ उपाध्याय, हिसान रूपन्देहीका अध्यक्ष कृष्ण पौडेल, अभिभावक महासंघका केन्द्रीय सदस्य लोकनाथ ज्ञवाली, प्याब्सन रूपन्देहीका वरिष्ठ उपाध्यक्ष अनन्तराम शर्मा र सचिव लक्ष्मण ज्ञवालीले मुलुकको समग्र शैक्षिक गुणस्तर कायम गर्न निजी विद्यालयहरूको योगदान सामुदायिकको भन्दा माथि रहेपनि सरकारले निजी विद्यालयलाई सौतेलो व्यवहार गरेको गुनासो गरे ।

कार्यक्रममा पत्रकारहरू खिमानन्द भट्टराई, माधव नेपाल, कृष्ण मल्ल र अमृता अनमोलले पनि सुझाव राखेका थिए ।

सम्बन्धित समाचार