नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ असार ।
काठमाडौं उपत्यकाको समुदायमा कोरोना भाइरस छिरेको पाइएको छ । इपिमिडियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले काठमाडौंको १२ ठाउँबाट स्याम्पल लिएर परीक्षण गर्दा ३ जनामा कोरोना भाइरस भेटिएको हो । ती ३ जनाको ट्राभल हिस्ट्री नरहेको महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए ।
‘पछिल्ला दिनमा काठमाडौं उपत्यकामा संक्रमित बढिरहेका छन् । अहिलेसम्म उपत्यकामा ३ सय ४७ जना संक्रमित पुगेका छन् । धेरै बाहिरबाट आएका छन् । केही व्यक्ति यात्रा नगरेका पनि संक्रमित भएका छन् । समुदायमा समस्या हो कि भनेर १२ स्थानमा परीक्षण गरेका छौं,’ उनले भने ।
ललितपुरको नख्खु टोल, काठमाडौंको कोटेश्वर, शहीद गंगलाल अस्पताल, शंखमुल, बुढानीलकण्ठ नगरपालिका, कपन, विमानस्थल, डिल्लीबजार, मनहरा, भक्तपुरको बोडेलगायतका स्थानबाट ३ हजार स्याम्पल लिइएको उनले बताए । ‘१२ स्थानबाट ३ हजार स्याम्पल लिँदा ३ जनालाई संक्रमण देखियो । उनीहरूको ट्राभल हिस्ट्री देखिँदैन,’ उनले भने ।
देशभर ट्राभल हिस्ट्री नभएका ६ देखि ७ प्रतिशतको हाराहारीमा छन् । ‘देशव्यापी ६ देखि ७ प्रतिशत र उपत्यकामा ०.१८ प्रतिशत छ । यसको मतलब समुदायमा छिटपुट देखिएको छ,’ डा पाण्डेले भने ।
अब समुदायमा व्यापक परीक्षण गरिने उनले बताए । ‘अब व्यापक रूपमा समुदायबाट स्याम्पल लिन्छौं । हामी सुरक्षित छौं कि छैनौं भनेर हेर्नुपर्छ,’ उनले भने, ‘देशभरबाट ४५ हजार र उपत्यकाबाट ५ हजार स्याम्पल लिएर परीक्षण गर्छौं ।’