नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ असार ।
आफूले राख्दै आएको प्रस्ताव अस्वीकृत भएपछि साझा पार्टीका प्रवक्ता सूर्यराज आचार्यले पार्टी छाडेका छन् । संयोजक बाहेक पार्टीका सबै संरचना भंग गरेर अघि बढ्ने आचार्यको प्रस्ताव आइतबारको केन्द्रीय कमिटीको बैठकले अस्वीकार गरेको थियो।
आफ्नो प्रस्तावलाई केन्द्रीय कमिटीले स्वीकार नगरेपछि प्रवक्ता आचार्यले आफूले पार्टीको सम्पूर्ण जिम्मेवारी त्याग्ने, पार्टी संरचनाभन्दा बाहिर रहने र वैकल्पिक पार्टी निर्माणले पार्टीभन्दा बाहिर रहेर सहयोग गर्ने प्रस्ताव राखेका थिए। मुमारामले भने व्यक्तिगत कारण देखाएर राजीनामा दिएको बताइन्छ ।
आचार्यको प्रस्ताव पार्टीमा नयाँ भने होइन। उनकै प्रस्ताव अनुसार झन्डै ९-१० महिनाअघि नै सचिवालयले त्यस्तो प्रस्ताव केन्द्रीय कमिटीसँग राखेको थियो। तर केन्द्रीय कमिटीबाट अनुमोदन हुन सकेको थियो। बरु पार्टीको लुम्बिनी भेलाले विचार र सिद्धान्त मिल्ने पार्टी, समूह, अभियान तथा व्यक्तिसँग एकता र सहकार्य गर्ने र साझा पार्टीकै संरचनालाई मजबुत बनाउने निर्णय गरेको थियो।
त्यसपछि पनि आचार्यले आफ्नो प्रस्ताव छाडेका थिएनन्। २६ गतेको सचिवालय बैठकमा पनि यो प्रस्ताव उनले राखेका थिए। त्यसलाई आइतबारको केन्द्रीय कमिटीले अस्वीकार गरिदिएको थियो। आचार्यले कार्यशैली वा अन्य व्यक्तिगत आरोप भने नलगाइएको पाठकले बताए।
रवीन्द्र मिश्र नेतृत्वमा गठन भएको तत्कालीन साझा पार्टीले विवेकशीलसँग पार्टी एकता गरी २०७४ साउन ११ गते विवेकशील साझा बनेको थियो। तर, दुवै पार्टी लामो समयसम्म एकताबद्ध भने रहन सकेनन्। २०७५ पुस २७ गते उनीहरु विभाजित भएका थिए। विभाजनपछि नेतृत्व तहका सबै आफ्नो पूर्वपार्टीतिरै गएका थिए।