नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ असार ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिएर उनकै नेतृत्वको सरकार पाँच वर्ष चल्ने हो भने नेकपाको जनमत समाप्त हुने बताएका छन् । साहना प्रधान प्रतिष्ठानद्वारा सोमबार आयोजित भर्चुअल छलफल कार्यक्रममा बोल्दै खनालले ओलीले नै नेकपाको विवादको निकासा दिनुपर्ने बताए ।
पूर्वप्रधानमन्त्री समेत रहेका खनालले भने, -‘यो सरकार पाँच वर्ष चल्ने हो भने नेकपा ‘रुट आउट’ हुन्छ । नेकपाको जनमत समाप्त हुन्छ । अहिले नै आधा जनमत खुम्चिसकेको छ । जताततै सरकारको विरोध बढेको छ । एकपछि अर्को अनियमिततालाई सरकारले नियन्त्रण गर्न सकेको छैन । प्रधानमन्त्रीले कतै केही भएको छैन भन्दै आउनु भएको छ । यसरी जाँदा भविष्य अन्धाकार हुने देखिन्छ ।’
खनालले पार्टी भित्रै सुधारको आवश्यकता रहेको पनि बताए । नेकपाले सरकार, नीति र कार्यक्रमलाई पुनर्गठन गरेमा अगामी निर्वाचनमा बहुमत ल्याउन सकिने उनको भनाई थियो । तत्कालाई दुई तिहाईको कल्पना गर्न नसकिने उनले बताए ।
नेकपाभित्रको विवाद थुमथुम्याएर यथास्थितिमा बस्ने हो भने पार्टीको भविष्य अनिश्चिततातिर जाने खनालले ठोकुवा गरे । सही नीति लिन नसके भूराजनीतिक कारणले कम्प्युनिष्ट पार्टी मात्रै होइन कुनै पनि राजनीतिक शक्ति अस्तित्वमा नरहने उनको भनाई थियो ।