नवकान्तिपुर संवाददाता
वीरेन्द्रनगर, ३० असार ।

नेपालमा कोरोना संक्रमण दिनदिनै बढीरहेको छ । पछिल्ला दिनमा दैनिक हुने संक्रमणमा केही कमी देखिएको छ । कोरोना संक्रमणबाट प्रदेशसभाका सांसद पनि अछुतो रहन सकेन् । कर्णाली प्रदेशसभामा विपक्षी दल नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेता शाहीलाई संक्रमण देखिएपछि प्रदेशसभामा तनावको अवस्था सिर्जना भएको छ ।
पीसीआर परीक्षणमा शाहीलाई संक्रमण देखिएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य शाखाका प्रमुख डा। लक्ष्मीनारायण तिवारीले जानकारी दिए । शाही प्रदेशसभामा अति सक्रिय रहेको र पत्रकारसँगको सम्पर्कमा रहने नेता हुन् । उनको सम्पर्कमा आएका प्रदेशसभा सदस्यहरु, पत्रकारहरु तथा परिवारका सदस्यको खोजी गरी स्वाब संकलनको तयारी भएको डा। तिवारीको भनाई छ ।
यस्तै संक्रमित थुनुवाको सम्पर्कमा आएका अर्का एक प्रहरीमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै जिल्ला प्रहरी कार्यालय सुर्खेतका तीन प्रहरीमा संक्रमण देखिएको छ ।
