नवकान्तिपुर संवाददाता
तानसेन, ३० असार ।

सिद्धार्थ राजमार्गमा पर्ने पाल्पा तानसेन र बुटवल सडकखण्ड वर्षयाममा पहिरोका कारणले अवरुद्ध हुने गर्दछ । सिद्धबाबामा त वर्षेनी ढुंगा खसेर मानिसहरुको ज्यान पनि जाने गर्दछ । अहिले सिद्धबाबामा मात्र नभएर पाल्पाका अन्य ठाउँमा समेत पहिरोले सडक अवरुद्ध पारेको छ ।
पहिरोको कारण पाल्पाका अधिकांश सडक अवरुद्ध भएका छन् । सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक पहिरोले दुई दिनदेखि अवरुद्ध भएको छ । सोमबार दिउँसोदेखि सिद्धार्थ राजमार्गको दोभान प्रहरी चौकी नजिक खसेको पहिरोका कारण अवरुद्ध भएको तानसेन बुटवल सडक अझै सुचारु हुन सकेको छैन ।
मंगलबार बिहान मात्र तानसेन बुटवल सडकखण्डको कालीमाटी क्षेत्रमा ठूलो पहिरो खसेको छ । कालीमाटी क्षेत्र सडक घुम्टी कटानको क्षेत्रमा पहिरो खसेको प्रहरीले जनाएको छ । पहिरो पन्छाउन, डोजर स्काभेटर परिचालन भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक मदन गिरीले बताए । यसैगरी तानसेन रामपुर सडक पहिरोका कारण अवरुद्ध भएको छ । मंगलबार बिहान पूर्वखोला गाउँपालिका १ चापगैरा, निस्दी गाउँपालिकाको ५ वेलडाडा र रामपुर नगरपालिकाको ४ को गिजिनडाडामा पहिरो खसेर सडक पूर्णरुपमा अवरुद्ध भएको पाल्पा प्रहरीले जनाएको छ ।
यसैगरी रम्भा गाउँपालिकाको केन्द्र अगाहाखोला खोकखोलामा जाने बाटो ४ दिनदेखि अवरुद्ध भएको छ । गाउँपालिकाको केन्द्र जाने बाटो लसुने क्षेत्रमा ठूलो पहिरो खसेकाले सडक अवरुद्ध भएको गाउँपालिकाले जनाएको छ ।
लगातार पानी परेको र ठूला ठूला ढुङ्गासहितको पहिरो भएकाले डोजरले पन्छाउन समेत कठिन भएको गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारीले बताए । पाल्पाको पुर्वखोला, रैनादेवीछहरा, निस्दी, माथागढी गाउँपालिका जोड्ने ग्रामिण सडकहरु पहिरोका कारण अवरुद्ध भएका छन ।
पालिकाले स्थानीयस्तरमा रहेको डोजर स्काभेटर प्रयोग गरी अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको पालिका प्रमुखहरुले बताएका छन् । पाल्पाका अधिकाश ग्रामिण क्षेत्रका सडकहरु डोजर प्रयोग गरी विस्तार तथा चौडा गर्दा पहिरो गई अवरुद्ध भएका हुन् ।
