लकडाउन अवधिभरको पनि होटलले दिने भए तलब, तर कति ?

तारे होटलले श्रमिकलाई साताको ५ दिनको न्यूनतम् तलब दिने भएका छन् । अब होटलका श्रमिकले मासिक ४३ सयदेखि १० हजार रुपैयाँसम्म न्यूनतम् पारिश्रमिक पाउनेछन् । घरमा बसेको अवधिमा पनि ६ महिनासम्म न्यूनतम् तलब पाउने गरी संघ र श्रमिक युनियनबीच सहमति भएको छ । होटल संघ नेपाल (हान) र अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुराँ मजदुर संघ, नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेस्टुराँ मजदुर युनियन र नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक संघबीच यस्तो सहमति भएको हो । २०७७ वैशाख १ गतेदेखि आगामी पुस १६ गतेसम्मका लागि यो सहमति लागू हुनेछ ।

असारमा हान र सम्बन्धित होटल मजदुरबीच भएको सहमतिअनुसार पाँचतारे डिलक्स होटलका मजदुरलाई मासिक १० हजार र पाँच तारे होटलका मजदुरलाई ९ हजार मासिक पारिश्रमिक दिने सहमति भएको छ । यस्तै, चारतारे डिलक्स होटलका मजदुरलाई मासिक ८ हजार ४ सय ५५ र चारतारे होटलका मजदुरलाई मासिक ८ हजार दिइने भएको छ । यस्तै, तीनतारे होटलका मजदुरलाई मासिक ५ हजार र दुईतारे होटलका मजदुरलाई मासिक ४ हजार ३ सय दिने सहमति भएको संघका वरिष्ठ कानुनी सल्लाहकार डा. गान्धि पण्डितले जानकारी दिए । एकतारे र पर्यटक स्तरका मजदुरको हकमा भने होटल व्यवस्थापन र मजदुरले आपसी सहमतिमा पारिश्रमिक निर्धारण गर्ने भनिएको छ । यदि सहमति हुन नसकेमा मात्र संघबाट सहमति खोजिने निर्णय भएको पण्डितले अन्नपूर्णलाई जानकारी दिए ।



यस अवधिमा हप्ताको २ दिन सञ्चिति बिदा कटाइनेछ । पुस अघि नै होटल सञ्चालनमा आएको अवस्थामा वा मजदुरलाई काम लगाएको अवधिमा भने साविककै तलब सुविधा दिइनेछ । होटल व्यवस्थापनले बोलाएमा कामका लागि उपस्थिति हुनुपर्ने तर नआएको खण्डमा घर बसीबसी पाएको न्यूनतम् तलबबापतको रकम कमर्चारी सञ्चयकोषबाट काटिने पनि सहमति भएको पण्डितले जानकारी दिए ।

कोरोना भाइरसको रोकथामका लागि लकडाउन लागू भएपछि सबै किसिमका होटल बन्द छन् । होटल श्रमिक रोजगारबिहीन भएका छन् । खाइपाएको रोजगारी बन्द भएपछि उनीहरुले गत वैशाखदेखि न्यूतम् तलबको माग गर्दै आइरहेका थिए । यसअघि हानले गत वैशाखमा प्रत्येक महिना आधारभूत तलबको १२.५ प्रतिशतको दरले मात्र तलब उपलब्ध गराउने निर्णयको विरोध गर्दै मजदुर र हानबीच पटकपटक वार्ता भए पनि सहमति भएको थिएन । आइतबारको बैठकबाट भने दुवैपक्षबीच नयाँ सहमति भएको हो । यो सहमति पछि होटल श्रमिकले घरमा बसेको अवस्थामा पनि राहतस्वरुप तलब पाउने भएका छन् । हानका सदस्य होटमा लागि मात्र यो सहमति लागू हुनेछ । पुसपछि पनि होटल सञ्चालन हुन नसक्ने अवस्था रहिरहे नयाँ सहमति गरेर अघि बढ्ने पनि उक्त वार्ताले निर्णय गरेको छ ।

सम्बन्धित समाचार