नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० असार ।

‘हामी अहिले पनि ठानिरहेका छौँ हामीले भारतका राजकुमार रामलाई सीता दियौँ । भारतका हैन अयोध्याका रामलाई सीता दिएका हौँ । अयोध्या भनेको वीरगञ्जभन्दा अलिकति पश्चिमपट्टिको गाउँ हो । अहिले खडा गरिएको अयोध्या होइन’ सोमवार भानु जयन्तीको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रममा भनेका थिए । साथै प्रधानमन्त्री ओलीले नेपाल सांस्कृतिक हिसाबले थिचिएको उल्लेख गर्दै भारतले नक्कली अयोध्या खडा गरेर सांस्कृतिक अतिक्रमण गरेको आरोप समेत लगाएका थिए ।
प्रधानमन्त्रीको ओलीको उक्त अभिव्यक्ति विवादित बनेपछि त्यसको बारेमा चौतर्फी आलोचना भइरहेको छ । नेपाल भारतबीच पछिल्लो समय दुरी बढ्दै जाँदा स्वयम् प्रधानमन्त्रीको स्तरबाटै नै यस्तो अपुष्ट अभिव्यक्ति आउनुले दुई देशको सम्वन्धमा झनै जटिलता उत्पन्न हुन सक्ने विश्लेषण पनि हुन थालेको छ ।
केहीदिन अघि आफूलाई प्रधानमन्त्री पदबाट हटाउन भारतको राज्य संयन्त्र नै लागेको भन्ने अभिव्यक्ति पनि विवादित बन्न पुगेको थियो । यसरी एकपछि अर्को अपुष्ट र अस्वाभाविक अभिव्यक्तिले दुई देशको सम्बन्धमा चिसोपन ल्याउन सक्ने देखिन्छ ।
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति के भन्छन् नेकपा नेताहरू ?
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति लक्षित गर्दै भूराजनीतिक संवेदनशीलताप्रति सचेत हुनुपर्ने अन्यथा राष्ट्रिय सार्वभौमिकता नै खतरामा पर्न सक्ने ठूलो जोखिम रहेको उल्लेख गरेका छन् । उनले ट्वीट् मार्फत भनेका छन् ‘हाम्रो भूराजनीतिक संवेदनशीलताप्रति हामी सचेत हुनै पर्छ । स्वतन्त्र परराष्ट्र नीतिमा आधारित कूटनीतिक श्रेष्ठताले मात्र हामीले हाम्रो भूराजनीतिक अवस्थितिको लाभ लिन सक्छौं, अन्यथा देश बाह्य शक्तिहरूको क्रीडास्थल बन्ने र राष्ट्रिय सार्वभौमिकता नै खतरामा पर्न सक्ने ठूलो जोखिमको चुनौती छ ।’
नेकपाका स्थायी कमिटी सदस्य डा. भीमबहादुर रावलले यो बेलामा भारतसँग सीमा क्षेत्र मिचिएको, तराईका बस्ती डुबानमा परेको र कालापानी क्षेत्रबाट भारतीय फौज हट्नुपर्ने विषय उठाई कुरा गर्नुपर्नेमा प्रधानमन्त्री ओलीले राम र अयोध्याबारे बहस गरेर विषयान्तर गरेको टिप्पणी गरेका छन् । साथै उनले देशलाई गम्भीर असर पार्ने विषयमा पार्टी र सरकार कहीँ पनि छलफल नगर्नु कस्तो तन्त्र हो ? भनेर प्रश्नसमेत गरेका छन् ।
त्यसैगरी नेकपाको विदेश विभागका उपप्रमुख विष्णु रिजालले प्रधानमन्त्री ओलीबाट ’एकपछि अर्को’ यस्तो अभिव्यक्ति आउनु रहस्यमय रहेको बताएका छन् । ‘पदमा बसेर बेतुकका र असान्दर्भिक कुरा बोल्दा राष्ट्रकै शिर झुक्छ’, उनले ट्वीटमा भनेका छन् ‘अप्रमाणित, पौराणिक र विवादास्पद कुरा बोलेर विद्वान भइन्छ भन्नु ठूलो भ्रम हो ।’ उनले अगाडि थपेको छन् ‘फुकीफुकी पाइला चालेर भूमि फिर्ता ल्याउनुपर्ने बेलामा विरोध र उत्तेजनाका लागि एकपछि अर्को मसला दिइनु दुर्भाग्यपूर्ण मात्र होइन, रहस्यमय छ ।’

