यी हुन् ओली–प्रचण्डबीच आज भएका ३ अनौपचारिक सहमति, भोलि लिखित सहमति हुने

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता भएको छ । ६ दिनपछि प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा तीन विषयमा समझदारी बनेको बताइएको छ । रातभरिमा अग्राख पलाएन भने भोलि दुबै अध्यक्षबीच ३ बुँदे सहमतिमा हस्ताक्षर हुने स्रोतको दाबी छ ।

यसअघि गत बुधबार पार्टीभित्रको विवाद बढ्दै जाँदा नेकपामा फुट आउने संकेत देखापरेपछि दुबै अध्यक्ष लचिलो भएर सहमतिमार्फत अगाडि बढ्न ओली र प्रचण्ड सहमत भएका थिए । ओलीले प्रचण्डलाई आफू आगामी महाधिवेशनमा अध्यक्ष पदमा नउठ्ने लिखित सहमति गर्न तयार रहेको बताएपछि प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजीनामा माग्दै आएका प्रचण्ड ओलीप्रति लचिलो भएका थिए ।



ओली र प्रचण्डबीच गत मंसिर ४ गते भएको समझदारीलाई थप सुदृढ गरेर नयाँ सहमतिमा हस्ताक्षर गर्ने तयारी भएको छ । मंसिर ४ को सहमतिमा ओलीले ५ वर्ष नै सरकार चलाउने र प्रचण्डलाई नेकपाको कार्यकारी अध्यक्षको जिम्मेवारी दिने उल्लेख थियो । तर अब भने प्रचण्डको कार्यकारी अधिकारलाई थप सुदृढ गर्न ओली तयार भएका छन् । प्रचण्डलाई पार्टी सञ्चालनसम्बन्धमा थप अधिकार दिइने भनिए पनि के कस्ता अधिकार थपिन्छ भन्नेमा केही सार्वजनिक गरिएको छैन ।

भोलि हुने भनिएको दुई अध्यक्षबीचको सहमतिपछि नेकपामा प्रचण्ड थप शक्तिशाली बन्ने नेकपा स्थायी समितिका एक नेताले नाम नबताउने शर्तमा जनाकारी दिए । उनका अनुसार ओलीले आगामि निर्वाचनपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउन र महाधिवेशनमा पार्टी अध्यक्ष बनाउन सघाउने लिखित सहमति गर्न तयार भएका छन् । साथै ओलीले सरकार सञ्चालनमा पनि पार्टीसँग छलफल गरेर दुरागामी निर्णय सहमतिमै गरेर अगाडि बड्ने लिखित सहमति गर्ने जनाइएको छ ।

नेकपालाई फुटबाट जोगाउने अस्त्र मानिएको यो सहमतिलाई कतिपयले चीनको सदासायतामा तयार भएको ड्राफ्टको रूपमा परिभाषित गरेका छन् । खासगरी नेकपा शीर्ष नेताहरुलाई पछिल्लो समयमा प्रत्यक्ष भेटेर पार्टीलाई फुटबाट जोगाउन दवाव दिंदै आएकी चिनियाँ राजदूत होउ याङ्छीकै मध्यस्थतामा ओली प्रचण्डबीच नयाँ सहमति हुन लागेको चर्चा छ । यद्यपि ओली प्रचण्डबीच भएको सहमतिको ड्राफ्टलाई वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनालले कुन रूपमा समर्थन् गर्छन् भन्ने विषयले नेकपाको थप यात्रा तय गर्ने देखिन्छ ।

चिसै पानीले नुहाए प्रचण्डले
नेकपाभित्रको यसपटकको विवाद ओलीको राजीनामाबाहेक कुनै एजेण्डामा सहमति हुन नसक्ने बताउदै आएका ओली इत्तर शक्तिहरू अन्ततः चिसै पानीले नुहाउन बाध्य भएका छन् अर्थात् ओलीलाई कुनै पदबाट पनि राजीनामा नगराई उनकै नेतृत्व स्वीकार्न तयार भएका छन् । ओलीले राजीनामा दिनुपर्ने अवस्था आएमा पार्टी फुटाएरै भएपनि सामना गर्न तयार भएको सन्देश दिएपछि प्रचण्ड र नेपाल पक्षका नेताहरू हच्किएका थिए ।

ओलीले पार्टी फुटाएर कांग्रेसको समर्थनमा फेरि प्रधानमन्त्री बनेमा आफुहरूको राजनीतिक भविष्य नै अन्योलमा पर्ने बुझेका प्रचण्ड र नेपाल अन्ततः ओलीसँग उधारो सहमतिमा अगाडि बढ्न बाध्य भए । यता ओलीले भने पार्टीभित्रको पछिल्लो विवादको सेफल्याण्डिङसँगै आफ्नो प्रधानमन्त्री पदको कार्यकाल ५ वर्ष नै लम्ब्याउन सफल भएका छन् । ओलीइत्तरका शक्तिको सरकार ढाल्ने दोस्रो योजना पनि असफल भएपछि सायदै अब उनीहरू निर्वाचनअगाडि सरकार परिवर्तनको तेस्रो प्रयास गर्नेछन् ।

सम्बन्धित समाचार