काठमाडौंमा चल्न थाले सार्वजनिक यातायात

सुन्दर यातायातले काठमाडौं उपत्यकामा ४ वटा विद्युतीय बस सञ्चालन गरेको छ । मङ्गलबारबाट सञ्चालन भएका विद्युतीय बसमध्ये ३ वटा चक्रपथमा र एउटा सूर्यविनायक-रत्नपार्क सञ्चालन गरिएको छ । बन्दाबन्दीका बेला सरकारले छोटो दूरीको सवारी सञ्चालन खुला गरी ५० प्रतिशत भाडा वृद्धि गरे पनि सुन्दर यातायातले भने पुरानै भाडामा यात्रुलाई सेवा दिएको छ ।

सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले भने, ‘बन्दाबन्दीले सबैलाई समस्या पारेको बेला हामी भाडा बढाउँदैनौं, पुरानै भाडामा यात्रुलाई सेवा दिन्छौं । कोरानाबाट बच्ने सुरक्षाका उपाय अपनाएर बस सञ्चालन गरेका छौं ।’



मयुर यातायातले पनि सेवा सञ्चालन गरेको छ । सरकारले छोटो दूरीका सवारी खुला गरेपछि मयुरले सेवा सञ्चालन गरेको हो । साझा यातायातले साउन १ गतेदेखि सेवा सञ्चालन गर्ने तयारी गरेको कार्यकारी निर्देशक भूषण तुलाधरले जानकारी दिए । तर, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भने विभिन्न माग राखेर बस सञ्चालन गरेको छैन ।

सरकारले खुला गरे पनि महासङ्घले बन्दाबन्दी अवधिको ब्याज मिनाहा, किस्ता तिर्ने अवधि थप, मर्मत सम्भारका लागि पुनर्कर्जा, मजदुरको कोरोना बीमालगायत राहत प्याकेजको माग राखी यातायात सञ्चालन नगरेको हो । महासङ्घका वरिष्ठ उपाध्यक्ष विजय स्वाँरले भने, ‘स्वास्थ्य सुरक्षा लगायतका सवालमा हामी छलफलमै छौं। २-४ वटा गाडी निकालेजस्तो होइन, लाखौं गाडी निकाल्नुपर्ने कुरा छ, हामी सरकार र व्यवसायीहरूसँग छलफल गरिरहेका छौं ।’ आजको गोरखापत्र दैनिकमा यो खबर प्रकाशित छ ।

सम्बन्धित समाचार