यी हुन् प्रचण्डसँग लिखित सहमति गर्न ओली तयार भएका विषय

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबारको भेटवार्तामा सहमतिको खाका तयार भएको बताइएको छ । सोहि खाकालाई मुर्तरुप दिएर आज दुबै अध्यक्षबीच लिखित सहमतिमा हस्ताक्षर हुने स्रोतको दाबी छ । यसअघि गत बुधबार पार्टीभित्रको विवाद बढ्दै जाँदा नेकपामा फुट आउने संकेत देखापरेपछि दुबै अध्यक्ष लचिलो भएर सहमतिमार्फत अगाडि बढ्न ओली र प्रचण्ड सहमत भएका थिए । ओलीले प्रचण्डलाई आफू आगामी महाधिवेशनमा अध्यक्ष पदमा नउठ्ने लिखित सहमति गर्न तयार रहेको बताएपछि प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजीनामा माग्दै आएका प्रचण्ड ओलीप्रति लचिलो भएका थिए ।

ओली र प्रचण्डबीच गत मंसिर ४ गते भएको समझदारीलाई थप सुदृढ गरेर नयाँ सहमतिमा हस्ताक्षर गर्ने तयारी भएको छ । मंसिर ४ को सहमतिमा ओलीले ५ वर्ष नै सरकार चलाउने र प्रचण्डलाई नेकपाको कार्यकारी अध्यक्षको जिम्मेवारी दिने उल्लेख थियो । तर अब भने प्रचण्डको कार्यकारी अधिकारलाई थप सुदृढ गर्न ओली तयार भएका छन् । प्रचण्डलाई पार्टी सञ्चालनसम्बन्धमा थप अधिकार दिइने भनिए पनि के कस्ता अधिकार थपिन्छ भन्नेमा केही सार्वजनिक गरिएको छैन ।



आज हुने भनिएको दुई अध्यक्षबीचको सहमतिपछि नेकपामा प्रचण्ड थप शक्तिशाली बन्ने नेकपा स्थायी समितिका एक नेताले नाम नबताउने शर्तमा जनाकारी दिए । उनका अनुसार ओलीले आगामि निर्वाचनपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउन र महाधिवेशनमा पार्टी अध्यक्ष बनाउन सघाउने लिखित सहमति गर्न तयार भएका छन् । साथै ओलीले सरकार सञ्चालनमा पनि पार्टीसँग छलफल गरेर दुरागामी निर्णय सहमतिमै गरेर अगाडि बड्ने लिखित सहमति गर्ने जनाइएको छ ।

यद्दपि प्रचण्डले भने पार्टी अध्यक्षबाट राजीनामा दिएर सरकार सञ्चालनमा केन्द्रित हुँदा राम्रो सन्देश जाने भन्दै ओलीलाई पुन:विचार गर्न आग्रह गरेका छन् । सरकार सञ्चालनमा व्यस्थ हुनुपरेकोले पार्टी अध्यक्षबाट राजीनामा दिएको हो भन्ने मान्यता कार्यकर्ता र जनातामाझ स्थापित गर्न सजिलो हुने प्रचण्डको भनाई छ ।

नेकपालाई फुटबाट जोगाउने अस्त्र मानिएको यो सहमतिलाई कतिपयले चीनको सदासायतामा तयार भएको ड्राफ्टको रूपमा परिभाषित गरेका छन् । खासगरी नेकपा शीर्ष नेताहरुलाई पछिल्लो समयमा प्रत्यक्ष भेटेर पार्टीलाई फुटबाट जोगाउन दवाव दिंदै आएकी चिनियाँ राजदूत होउ याङ्छीकै मध्यस्थतामा ओली प्रचण्डबीच नयाँ सहमति हुन लागेको चर्चा छ । यद्यपि ओली प्रचण्डबीच भएको सहमतिको ड्राफ्टलाई वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनालले कुन रूपमा समर्थन् गर्छन् भन्ने विषयले नेकपाको थप यात्रा तय गर्ने देखिन्छ ।

सम्बन्धित समाचार