नवकान्तिपुर संवाददाता
काठमाडौं, ३१ असार ।

हाल नेपालभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै, मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभागबाट केही दक्षिणतिर सरेको पनि महाशाखाले जनाएको छ । बुधबार बिहानैदेखि देशभर आँशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेश, प्रदेश १, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ ।
आज देशभर आँशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै प्रदेश १, प्रदेश ५, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको हुँदा उक्त प्रदेशका नदीहरुमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल–पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरिएको छ ।

