धरहरा पुनर्निर्माणका कामदार क्‍वारेन्टिनमा

धरहरा पुनर्निर्माणका लागि बाहिरी जिल्लाबाट ल्याइएका ७० कामदारलाई क्‍वारेन्टिनमा राखिएको छ । सरकारले गत चैत ११ देखि देश पूरै लकडाउन गरेपछि नियमित रुपमा काम गरिरहेका कामदार घर गएका थिए । रोकिएको काम अघि बढाउन पुनर्निर्माण गर्न थप कामदार सप्तरीबाट केही दिनअघि ल्याइएको थियो । ल्याइएका ७० कामदारलाई क्‍वारेन्टिनमा राखिएको र पीसीआर परीक्षणपछि मात्र काममा लगाइने जनाइएको छ ।

कोरोना सङ्क्रमणको कारण पछिल्लो समय बाहिरी जिल्लाबाट ल्याइएका कामदारको कोरोना परीक्षणपछि मात्र काममा लगाउन क्‍वारेन्टिनमा राखिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरले बताए । अहिले उनीहरुको परीक्षणका लागि नमुना संकलन भइरहेको छ । परीक्षणपछि काममा लगाइने सम्पदाविज्ञ मानन्धरको भनाइ छ । उनले भने, ‘अहिले धरहराको पुनर्निर्माणका लागि ३५ कामदार नियमित रुपमा लागिरहेका छन् । हालसम्मा ३९ प्रतिशत काम सम्पन्‍न भएको छ ।’



भूकम्प गएको तीन वर्ष बितेपछि निर्माणको कामले गति लिएको हो । दुई वर्षको अवधिमा निर्माण सम्पन्‍न गर्नेगरी रमन कन्स्ट्रक्सनले धरहराको पुनर्निर्माण सुरु गरेको छ । निर्माणका लागि तीन अर्ब ४८ करोड रुपैयाँ लाग्‍ने जनाइएको छ । पहिलाको धरहराभन्दा नयाँ बन्‍ने धरहराको चौडाइ ठूलो हुनेछ । जहाँ दुईवटा लिफ्ट हुनेछ । एउटा परम्परागत भर्‍याङ रहनेछ । लिफ्ट र भर्‍याङ दुईवटै माध्यमबाट धरहरा चढ्न सकिनेछ ।

अब बन्‍ने धरहरा अत्याधुनिक र सुविधा सम्पन्‍न हुनेछ । कुल ४२ रोपनीमा निर्माण सुरु गरिएको धरहरा बाहिरबाट हेर्दा ११ तलाको हुने भए पनि भित्र भने २२ तलाको र उचाइ ७२ मिटर र ४८ फिटको बेस रहनेछ । नयाँ धरहरामा बगैँचा, सङ्ग्रहालय, रंगिन जलफोहरा, प्रदर्शनी हल, पार्किङस्थल, पसललगायत रहनेछन् ।

सुरुमा ११ तले धरहरा विसं १९९० को भूकम्पका कारण क्षतिग्रस्त भएपछि नौ तलामा सीमित भएको थियो । सो ऐतिहासिक धरहरा सन् १८३२ मा भीमसेन थापाले निर्माण गरेका थिए । गोश्‍वारा हुलाक भएको स्थानमा उद्यान बनाइनेछ । उद्यानभित्र बस्‍ने ठाउँ, ढुंगेधारा, हरियाली, चमेना गृह हुनेछ । धरहरामा पढ्न चाहने, ध्यान गर्न चाहने या बस्‍न चाहने सबैका लागि सुविधा उपलब्ध हुनेछ ।

निर्माण हुने धरहरा बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री हुने र त्यहाँ आउने अवलोकनकर्ताको सवारीसाधनको व्यवस्थित पार्किङ गर्न सकिने गरी पुनर्निर्माण हुनेछ । धरहराको १८औँ तलामा अवलोकलन कक्ष हुनेछ ।

सम्बन्धित समाचार