नवकान्तिपुर संवाददाता
काठमाडौं, ३१ असार ।

सरकारी लगानीको साझा यातायातले भोलिबाट बस सेवा सुरु गर्ने भएको छ । साझाले २६ वटा बसमार्फत् काठमाडौंका अधिकांश रुटमा सेवा सुरु गर्न लागिएको हो । पहिलो दिन सरकारले तोकेअनुसार नै सिटभन्दा आधा यात्रु राखेर बस सञ्चालन गर्न लागिएको साझाका व्यवस्थापक महेन्द्र पाण्डेले बताए ।
बसका कर्मचारी र यात्रु दुवैले आवश्यक सुरक्षाप्रति सर्तक हुने गरी बस सञ्चालन गर्न लागिएको छ । उनका अनुसार यात्रुले साझाका बसमा चढ्दा माक्स लगाउने, सेनेटाइजरको प्रयोग गर्ने र सामाजिक दुूरी कायम गर्नेसँगै खुद्रा पैसा बोकर मात्रै बसमा यात्रा गर्नुपर्छ । उनले भने, ‘बसका कर्मचारीले पनि माक्स, पञ्जा र सेनेटाइजरको व्यवस्था गरिएको छ ।’
पहिलेकै रुटमा सामान्य अवस्थाभन्दा कम बसबाट सेवा सुरु गर्न लागिएको साझाले जनाएको छ । पहिले थोरै बसबाट सुरु गरिएमा आवश्यकतानुसार थप गर्दै जाने व्यवस्थापक पाण्डेले बताए । सरकारले तोकेअनुसार नै भाडा लिइनेछ । मन्त्रिपरिषद्को बैठकले सार्वजनिक यातायात सञ्चालनको निर्णय गरेपछि पनि यातायातले बसको मर्मतलगायतका तयारीका काम गरिरहेको थियो । यातायात व्यवस्था विभागले औपचारिक रुपमा पत्र नदिएकाले सेवा सुरु गर्न नसकेकामा पत्र प्राप्त भएसँगै सुरु गरिएको हो । उनले भने, ‘आगामी दिनमा आवश्यकतानुसार सेवा विस्तार हुनेछ ।’
