नवकान्तिपुर संवाददाता
काठमाडौं, १ साउन ।
नेपाल कम्युनिष्ट पार्टी भित्रको शक्ति संघर्ष टुंग्याउनका लागि शीर्ष नेताबिच लगातार वार्ता भए पनि वार्ता कुनै पनि ठोस निष्कर्षमा पुगी निकास निस्कन सकेको छैन । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच वार्ता हुँदै आएकोमा बिहीबार बालुवाटारमा दुई अध्यक्ष र पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालबिच वार्ता भएको हो ।
त्यसक्रममा प्रचण्ड र नेपालले ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा दिएर समस्या समाधान गर्न भनेको स्रोतले जनाएको छ । बिहीबारको छलफलमा महासचिव विष्णु पौडेल पनि सहभागी थिए । शीर्ष नेता तहमा सहमति जुटाउनका लागि समय दिने भन्दै स्थगित गरिएको स्थायी कमिटी बैठक शुक्रबार बस्दैछ । तर अझैसम्म पनि सहमतिको संकेत देखिएको छैन ।
ओली तथा प्रचण्ड–नेपाल पक्ष आ–आफ्नो अडानमा कायम छन् । ओलीसँगको छलफलका लागि बालुवाटार जानुअघि प्रचण्ड निवास खुमलटारमा प्रचण्ड–नेपालसहित झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाबिच छलफल भएको थियो ।
सोही अनुसार प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्रीको राजीनामा मागेका हुन् । यसअघिसम्म उनीहरुले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनु पर्ने माग गर्दै आएका थिए ।