नवकान्तिपुर संवाददाता
काठमाडौं, १ साउन ।
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपालले आफूनिकट सचिवालय सदस्यहरूसँग पछिल्लो राजनीतिक घटनाक्रम र ओलीसँग लिनुपर्ने रणनीतिकाबारे परामर्श लिएका छन् । आज बिहान प्रचण्डनिवास खुमलटारमा भएको छलफलमा प्रधानमन्त्री केपी ओलीसँग नझुक्न प्रचण्ड र नेपाललाई ओलीइत्तरका सचिवालय सदस्यहरूले सुझाव दिएका थिए ।
बैठकमा अध्यक्ष प्रचण्ड सहित, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सहभागी थिए । छलफलमा प्रचण्डले ओलीसँग भएको वार्ताको प्रगति विवरण सुनाएका थिए । प्रचण्डले ओली दुबै पदबाट राजीनामा दिन तयार नभएको र राजीनामा नै दिनुभन्दा पार्टी फुटाउँदा आफूलाई फाइदा हुने बुझाइमा पुगेको बताएका थिए ।
आजको वार्तामा माधव कमरेड पनि सहभागी हुने भएकोले तपाईहरूको राय बुझौं भनेर बोलाएको हो । पार्टी फुट्न दिने या ओलीलाई नै नेता स्वीकारेर अगाडि बढ्ने एक छान्नुपर्ने अवस्था आयो, प्रचण्डको भनाई उध्रित गर्दै खुमलटार स्रोतले भन्यो ।
छलफलको क्रममा अधिकांश नेताले ओलीसँग झुकेर पार्टीको भविष्य डामाडोल पार्न नहुने सुझाव दिएका थिए । हाम्रो बहुमत छ, हामी ओलीसँग किन झुक्ने ? पार्टीको निर्णय पनि नमान्ने र बहुमतको कदर पनि नगर्ने त्यसरी कहाँ हुन्छ ? छलफलको क्रममा उपाध्यक्षसमेत रहेका गौतमले यसरी आकोश पोखेका थिए ।
छलफलको क्रममा थापा र श्रेष्ठले पनि पार्टी फुट्छ कि भनेर ओलीकै कुरामा हस् भन्दै अगाडि बढ्दा पार्टी झनै बिग्रने बताएका थिए । वरिष्ठ नेता खनालले पनि ओलीसँग झुकीझुकी पार्टी एकता जोगाउन आवश्यक नरहेको भन्दै नयाँ रणनीतिको साथ अगाडि बढ्नुपर्ने बताएका थिए ।
ओलीसँग वार्तामा बस्नुअघि आफूनिकटसँगको परामर्शपछि वार्तामा बसेका प्रचण्ड र नेपालले ओलीलाई फेरि राजीनामा दिन दबाव दिए । तर ओलीले पुरानै अडान दोहोर्याए, अध्यक्षबाट हटाउन चाहनुहुन्छ भने महाधिवेशनमा जाउँ, सरकारबाट हटेको हेर्न चाहनुहुन्छ भने निर्वाचनसम्म पर्खनुहोस् । नेपाल एकछिन् झोक्किए । वार्ता कुनै सहमतिमा नपुग्दै भाँडियो ।