
नेपाल तथा भारतमा शुभ साइत र असुभ साइतमा मानिसहरुको विश्वास छ । कुनै राम्रो वा ठूलो समारोह गर्नुपर्दा होस् वा विवाह व्रतबन्ध गर्दा होस् साइत हेरेर त्यसै अनुसार काम गर्ने चलन छ । तर बच्चा जन्माउने जस्तो प्राकृतिक कार्यमा पनि साइत हेने भन्दा अलि अचम्म लाग्दछ । तर यहाँ त्यस्तै भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–४ की २६ वर्षकी एक महिलालाई डाक्टरले गत असारको १४ गते सुत्केरी हुने समय दिए । डाक्टरले सुत्केरी हुन दिएको समयभन्दा तीन दिनअघि नै उनी भेरी अस्पताल नेपालगञ्जमा पुगिन् । उनी ज्योतिषीसँग राम्रो साइत हेराएर बच्चा जन्माउन पुगेकी थिइन् । उनले भनेकै साइतमा चिकित्सकले पनि शल्यक्रियामार्फत बच्चा जन्माइदिए तर डाक्टर ज्योतिषले भनेको साइतबारे भने जानकार थिएनन् ।
त्यस्तै नेपालगञ्ज–४, कै अर्की महिलाले पनि डाक्टरले दिएको मितिभन्दा दुई दिनअघि नै अस्पतालमा पुगेर शल्यक्रियामार्फत बच्चा जन्माइन् । यी दुई महिला प्रतिनिधि पात्र मात्रै हुन्। धेरैलाई ‘नर्मल डेलिभरी’ स्वास्थ्यका लागि राम्रो हो भन्ने थाहा हुँदाहुँदै पनि लामो समयसम्म पीडा सहन नसक्ने, ज्योतिषलाई हेराएर बच्चा जन्माउने साइत निकाल्नेजस्ता कुराले पछिल्लो समय शल्यक्रियाबाट बच्चा जन्माउने महिलाको सङ्ख्या बढेको छ । चिकित्सक पनि पछिल्लो समय शल्यक्रियामार्फत महिलाले बच्चा जन्माउने प्रचलन बढेर गएको बताउँछन् ।
प्राकृतिकरुपमा बच्चा जन्माउनु स्वास्थ्यका लागि राम्रो भन्ने ज्ञान हुँदा पनि ज्योतिषलाई हेराएर राम्रो साइतमा बच्चा जन्माउने चाहना, प्राकृतिक सुत्केरीका लागि लामो समयसम्म पीडा सहेर बस्न नसक्ने हुँदा शल्यक्रिया गरेर प्रसव पीडाबाट मुक्ति पाउन पछिल्लो समय बच्चा जन्माउन महिलाले शल्यक्रिया रोज्ने गरेका छन् ।
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जकी प्रसूति रोग विशेषज्ञ डा अङ्कुर भण्डारीका अनुसार शल्यक्रियाबाट बच्चा जन्माउने महिलाको सङ्ख्या बढ्दो छ । उनले भनिन्, “हामी सामान्य अवस्थामै बच्चा जन्माउन प्रेरित गर्छौं । सम्पन्न परिवारका महिला प्रसव पीडाले कष्ट र पीडा नहोस् भनेर शल्यक्रिया गरेर बच्चा जन्माउन चाहनुहुन्छ ।”
ग्रामीण भेगको तुलनामा शहरी क्षेत्रका गर्भवती महिलाले बच्चालाई जन्म दिन प्राकृतिकभन्दा शल्यक्रिया नै रोज्ने गरेको उनले बताइन् । ‘ग्रामीण भेगका महिलाले प्राकृतिक प्रक्रियाबाटै बच्चा जन्माउने तर शहरमा सुविधायुक्त अस्पताल हुने लामो समयसम्म पीडा सहन नपरोस् भनेर शहरी क्षेत्रका महिलाले बच्चा जन्माउँदा शल्यक्रिया नै रोज्नुहुन्छ’, उनले भनिन् ।
