नवकान्तिपुर संवाददाता
काठमाडौं, २ साउन ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटिको बैठक फेरि दुई दिनका लागि स्थगित गरिएको छ । यसअघि आजै दिउँसो तीनबजे सम्मका लागि स्थगित गरिएको बैठक फेरि चार गते तीन बजेसम्मका लागि स्थगित गरिएको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार पार्टी स्थायी कमिटिको बैठक आज दिउँसो तीन बजेसम्मका लागि स्थगित भएकोमा पुनः स्थगित भई साउन ४ गते तीन बजे हुनेगरी तोकिएको हो । केपी शर्मा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने प्रचण्ड–माधव नेपाल खेमाको माग छ । तर ओलीले उक्त माग अस्विकार गर्दै आएका छन् ।
बिहीबार भएको छलफलमा दाहाल र नेपालले राजीनामा दिन आग्रह गर्दा ओलीले आफूले राजीनामा नदिने भन्दै सकेको प्रक्रिया अघि बढाउन चुनौती दिएका थिए । नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सुरु भएको विवाद सचिवालय, स्थायी समिति हुँदै अब केन्द्रीय कमिटीमा पुग्ने भएको छ । सरकार र पार्टी सञ्चालनमा ओलीको कार्यशैलीबाट सुरु भएको नेकपा विवाद अहिले स्थायी समितिमा अल्झेको छ । स्थायी समिति बैठक रोकेर नेताहरु असार १८ गतेदेखि लगातार छलफलमा जुटे पनि विवाद मिल्नुको साटो झन झन् गहिरिँदै गएको छ ।
बिहीबारको छलफलमा पनि दाहाल र नेपालले ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा दिन आग्रह गरे पनि उनले यसअघि झै अस्वीकार गर्दै बहुमतबाट निर्णय लिन चुनौती दिए। असार १८ गते यता ओली दाहालबीच विवाद समाधनका लागि भन्दै सातपटक छलफल भए पनि विवाद जहाँको त्यहीँ छ । स्रोतका अनुसार ओलीले आफूले दुवै पदबाट राजीनामा नदिने र दाहाल नेपालललाई बहुमतका आधारमा आफूलाई हटाउने निर्णय गर्न धम्क्याएका थिए।
एक दुई दिनमा स्थायी समिति बैठक सकेर भदौ पहिलो हप्तामा केन्द्रीय कमिटी बैठक बोलाउन नेताहरु तयार भएका बताइएको छ । नेकपा स्थायी समिति ४५ सदस्यीय छ भने केन्द्रीय कमिटीमा ४४१ जना छन्।