राजु लामिछाने
काठमाडौं,३ साउन ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकमा पार्टीभित्रको विवाद अन्त्य गर्ने र सहमतिको आधारमा जनादेशअनुसार काम गर्ने निर्णय भएको छ ।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकले पार्टीभित्रको संकट समाधानको लागि स्थायी कमिटीमा बिस्तृतमा छलफल गर्ने निर्णय पनि सचिवालय बैठकले गरेको छ । स्थायी कमिटी बैठक भोलि दिनको ठीक ३ बजे बालुवाटारमै बस्ने निर्णय भएको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
आजको सचिवालय बैठकमा पार्टीभित्र देखिएको विवाद समाधान र समसामयिक राजनीतिबारे सौहार्दपूर्ण छलफल भएको श्रेष्ठको दाबी छ । पार्टी कमिटीभित्र सौहार्दपूर्ण छलफल गर्ने वातावरण भनेकोले भोलिको स्थायी कमिटी बैठकमार्फत पार्टीभित्रको विवाद अन्त्यको पहल हुने प्रवक्ता श्रेष्ठले बताए ।
नेकपाले स्थायी कमिटी बैठक स्थगन गरेर आज सचिवालय बैठक बसेको थियो । गत असार १० गतेबाट जारी रहेको नेकपाको पाँचौ स्थायी कमिटी बैठक पार्टीको आन्तरिक विवाद मिलाउन पटक पटक स्थगन हुँदै आएको छ । शुक्रबार डाँकिएको स्थायी कमिटी बैठक आइतबारसम्मका लागि स्थगन गरिएको छ । यसअघि सचिवालय बैंठक अघि अध्यक्षद्वय केपीशर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पनि भेटवार्ता भएको थियो ।