नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ साउन ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक केहिबेर अघि सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सकेर प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपतिलाई भेट्न शीतल निवास गएका छन् ।
आजको सचिवालय बैठकमा पार्टीभित्रको विवाद अन्त्य गर्ने र सहमतिको आधारमा जनादेशअनुसार काम गर्ने निर्णय भएको छ । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकले पार्टीभित्रको संकट समाधानको लागि स्थायी कमिटीमा बिस्तृतमा छलफल गर्ने निर्णय पनि सचिवालय बैठकले गरेको छ । स्थायी कमिटी बैठक भोलि दिनको ठीक ३ बजे बालुवाटारमै बस्ने निर्णय भएको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
आजको सचिवालय बैठकमा पार्टीभित्र देखिएको विवाद समाधान र समसामयिक राजनीतिबारे सौहार्दपूर्ण छलफल भएको श्रेष्ठको दाबी छ । पार्टी कमिटीभित्र सौहार्दपूर्ण छलफल गर्ने वातावरण भनेकोले भोलिको स्थायी कमिटी बैठकमार्फत पार्टीभित्रको विवाद अन्त्यको पहल हुने प्रवक्ता श्रेष्ठले बताए ।
नेकपाले स्थायी कमिटी बैठक स्थगन गरेर आज सचिवालय बैठक बसेको थियो । गत असार १० गतेबाट जारी रहेको नेकपाको पाँचौ स्थायी कमिटी बैठक पार्टीको आन्तरिक विवाद मिलाउन पटक पटक स्थगन हुँदै आएको छ । शुक्रबार डाँकिएको स्थायी कमिटी बैठक आइतबारसम्मका लागि स्थगन गरिएको छ । यसअघि सचिवालय बैंठक अघि अध्यक्षद्वय केपीशर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पनि भेटवार्ता भएको थियो ।