नवकान्तिपुर संवाददाता
रूपन्देही, ५ साउन ।

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्ड फेरि अवरूद्ध भएको छ । तानसेन नगरपालिका–८ मा पर्ने गौडेपुल नजिकै शुक्रबार राति खसेको पहिरो दुई दिन लगाएर पन्छाएर सञ्चालनमा आएको सडक फेरि अवरूद्ध भएको हो ।
तानसेन बुटवल खण्ड सडक पहिरोका कारणले वर्षैनी अवरुद्ध हुने गर्दछ । वर्षा याममा पहाडी इलाका भएकोले पहिरो खसि नै रहने गर्दछ जसले गर्दा यात्रुहरुले यातायात अवरुद्ध भएर शास्ती खेप्नु पर्दछ ।
पहिरो हटाएर आइतबार साँझ ५ बजेदेखि एकतर्फी सवारी साधन चलाइएकोमा फेरि सोही स्थानमा पहिरो खसेपछि सुचारू भएको तीन घण्टामै पुनः सडक अवरुद्ध भएको छ ।
राति सवा आठ बजेपछि पूर्णरुपमा सडक अवरुद्ध भएको उक्त सडकखण्डलाई सञ्चालन गर्नका लागि आज बिहानबाट पहिरो पन्छाउने काम शुरु गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन गिरीले जानकारी दिए ।

