नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ साउन ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्र एकता महाधिवेशनको चर्चा सुरू हुनु खुसीको कुरा भएको बताएका छन् । पार्टी एकताको संक्रमणकाल अन्त्य गर्न आवश्यक तयारी पूरा गरी यथाशीघ्र महाधिवेशन सम्पन्न गर्नै पर्ने तर महाधिवेशनलाई प्राविधिक विषय मात्र बनाउन नहुने उनकोे भनाइ छ ।
‘वैचारिक कार्यभारलाई केन्द्रमा राखी सांगठनिक कार्यभार समेत पूरा गर्ने गरी महाधिवेशनको तयारी गरौं । यसो गर्दा आगामी मङ्सिरमा नै महाधिवेशनको आयोजना गर्न सम्भव देखिन्न । त्यसैले हचपच र ढिलाई दुबै गलत हुन्छन्’ सामाजिक सञ्जाल फेसबुकमा प्रवक्ता श्रेष्ठले लेखेका छन् । उनले अगाडि थपेका छन्, ‘गत केन्द्रीय कमिटीको यस समबन्धी निर्णयलाई ध्यान दिँदै उपयुक्त समय निर्धारित गरी महाधिवेशनको तयारीमा अघि बढौं । महाधिवेशनलाई एकता र वैचारिक संश्लेषण एवं विकासको महाधिवेशन बनाऔं ।’
यसअघि मंगलवार नै प्रवक्ता श्रेष्ठले ट्वीट गर्दै पार्टी एकताको रक्षा अहिलेको बटमलाइन भएको बताएका थिए । पछिल्लो केही समय यता नेकपाभित्र विवाद बढ्दै गइरहेको र पार्टी नै फुटको संघारमा पुगेको भन्ने विश्लेषण भइरहेका बेला प्रवक्ता श्रेष्ठले ट्वीटमा लेखेका थिए, ‘पार्टी एकताको रक्षा यतिबेलाको हाम्रो बटमलाइन हो । यसको उद्देश्य राष्ट्रिय सार्वभौमिकता एवं अखण्डताको रक्षा, लोकतन्त्रको रक्षा एवं विस्तार, समाजवादउन्मुख सामाजिक आर्थिक रूपान्तरण हो ।’ उनले अगाडि थप्दै भनेका छन्– ‘पार्टी एकताको रक्षा, यथास्थितिमा गुणात्मक परिवर्तन र महाधिवेशनको तयारीलाई निकासको सूत्र बनाऔँ ।’

