महेश कठायत ।
काठमाडौं, ६ साउन ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्यहरू केही समय अघिदेखि स्थायी कमिटी बैठकको माग गर्दै शीर्ष नेताहरूलाई दबाब दिदै आइरहेका थिए । पार्टीको एकता प्रक्रिया र सरकारको काम कारवाही लगायतका विषयमा छलफल गर्न स्थायी कमिटी बैठकको माग गरिरहेका स्थायी कमिटी सदस्यहरू अध्यक्षद्वयलाई पत्र नै पठाए ।
पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले जब पार्टीभित्र छलफल नै नगरी गत वैशाख ८ राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषद् सम्बन्धी दुईवटा अध्यादेश एकाएक ल्याए, त्यसको दुई दिनपछि (वैशाख १० गते)२० जना स्थायी कमिटी सदस्यहरूले दुई अध्यक्षलाई पत्र पठाए । त्यसको दुई महिनापछि असार १० गते बल्ल नेकपा स्थायी कमिटीको पाँचौं बैठकसुरू भयो ।
स्थायी कमिटी बैठकमा सातवटा एजेण्डा तय भएका थिए । सातवटा एजेण्डाहरूमा कोभिड–१९ को नियन्त्रण, रोकथाम र उपचार, नेपालको सीमा समस्या र समाधान, सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा र सांगठानिक एकताको बाँकी कामहरू सम्पन्न गर्ने, एमसीसी र विविध रहेका थिए । तर स्थायी कमिटी बैठक सुरू भएको करिब एक महिना पुग्नै लाग्दासमेत एजेण्डाहरूले प्राथामिकता पाएको छैन । अहिले स्थायी कमिटीको अर्को बैठक श्रावण १३ गते बस्ने गरी स्थगित भएको छ ।
प्रधानमन्त्री एकपछि अर्को अप्ठ्यारोका कारण बैठक सर्दै..
स्थायी कमिटी बैठक सुरू भएको चार दिनपछाडि एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले एउटा गम्भीर खुलासा गरे ।असार १४ गते मदन भण्डारीको ६९औं जन्मजयन्तीका अवसरमा बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको नयाँ नक्सा जारी गरेका कारण आफूलाई प्रधानमन्त्रीबाट हटाउन भारतको राज्य संयन्त्र र नेपालकै केही नेताहरू लागि परेको खुलासा गरेका थिए । तर धेरैले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति अपुष्ट र अस्वाभाविक भएको भन्दै राजनीतिक वृत्तमा विश्लेषण भइरहेका बेला स्वयंम् नेकपाभित्र पनि हलचल मच्चायो, जसले गर्दा नेकपा स्थायी कमिटी बैठकमा थप जटिलता उत्पन्न भयो । उक्त अभिव्यक्ति आएको चार दिनपछि फेरि प्रधानमन्त्री ओली अनपेक्षित रूपमा संघीय संसदको चालु अधिवेशन अन्त्य गर्ने निर्णयमा पुगे । प्रधानमन्त्रीको अभिव्यक्तिका कारण जटिलता निम्त्याएको स्थायी कमिटी बैठकमा उनको व्यवहारले झनै त्यसलाई मलजल मिल्यो ।
संकट टार्न प्रधानमन्त्री निरन्तर कसरतमा
पार्टीभित्रको आन्तरिक विवाद बढ्दै गइरहेको बेला नेकपा शीर्ष नेताहरूले प्रधानमन्त्री ओलीको राजीनामाको माग गर्न थाले । पार्टी र सरकारका काम कारवाहीका विषयमा ओली एकलौटी अघि बढेको भन्दै शीर्ष नेताहरूले नै ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिन आग्रह गर्दै आइरहे पनि ओली दुबै पद नछोड्ने अडान राख्दै आए । यसबीच प्रधानमन्त्री ओलीले आफूमाथि आइपरेको संकटलाई पार लगाउन राष्ट्रपति, मन्त्री र आफू निकट नेताहरूसँगको भेटघाटलाई तीब्रता दिए । यति गरेर पनि संकट पार नलागेपछि ओलीले पछिल्लो समय अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग ‘वान टु वान’ वार्ता सुरू गरेका छन् । तर पनि विवाद समाधानको मिलन विन्दुमा पुग्न नेकपालाई अझै हम्मेहम्मे परेको देखिन्छ ।
पछिल्लो समयमा नेकपाको स्थायी कमिटी बैठक जति लम्बिदै गएको छ, समस्याहरू प्नि त्यसैगरी थपिदै गएका छन् । पार्टीभित्रको विवाद मात्रै नभएर देशभरि नै अहिले बाढी, पहिरो, डुबान, सलह र कोरोनाको समस्या आदि कायम छन् । यस्तो बेलामा सत्तारुढ दल नेकपा आन्तरिक विवादमा अल्झिदा नागरिकहरुलाई आफ्ना समस्याहरूलाई सरकारले नजरअन्दाज गरेको भान हुनेछ ।