नेतृत्व कमजोर हुँदा कांग्रेस कमजोर भयो: वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको नेतृत्व कमजोर हुँदा पार्टी कमजोर भएको बताएका छन् । विपी कोइरालाको ३८औं स्मृति दिवसका अवसरमा नेपाल विद्यार्थी संघले विपी सङ्ग्रहालय सुन्दरीजलमा मंगलबार आयोजना गरेको वृक्षरोपण कार्यक्रममा उनले कांग्रेसले सरकारको गलत क्रियाकलापको भण्डाफोर गर्न नसक्दा कमजोर हुँदै गएको बताए ।

वरिष्ठ नेता पौडेलले पार्टीको १४औं महाधिवेशन र भ्रातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन कांग्रेसको अहिलेको मुख्य आवश्यकता भएको बताए । ‘कांग्रेसका कुनै नेताको पछाडि नलाग्नुहोस्, विचार, सिद्धान्त र आदर्शको पछाडि लाग्नुहोस्’, कार्यकर्तासँग उनले भने । कार्यकर्ताले नेताको मुख्यांकन गर्न सक्नुपर्ने उनको भनाइ थियो ।



नेता पौडेलले बीपी कोइरालाले मुलुकमा सामन्तवादी युगको अन्त्य गरेर लोकतन्त्रका लागि लडेकाले कोइराला युगान्तकारी नेता भएको उल्लेख गरे । मुलुकको कृषि, ऊर्जा र पर्यटन क्षेत्रको विकासका लागि पार्टीले महत्वपूर्ण भूमिका खेलेको बताउँदै उनले कांग्रेसले विपीको आदर्श र सिद्धान्तलाई नभुलेको प्रस्ट पारे ।

कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले सबै मिलेर कांग्रेसभित्रको विवाद अन्त्य गर्नुपर्ने बताए । पार्टीभित्रको समस्या समाधानका लागि नेतृत्वले सबैलाई मिलाएर अगाडि लैजानुपर्ने उनको भनाइ थियो । पूर्वपरराष्ट्रमन्त्री डा महतले विदेशी ऋण स्वीकृत गर्ने सरकारले विदेशी सहयोग रकम लिन नमानेर गल्ती गरेको उल्लेख गरे ।

कांग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेतले बीपीको सपना कांग्रेसले मात्र पूरा गर्न सक्ने बताए । नेविसंघका अध्यक्ष राजीव ढुंगानाले वर्तमान सरकारले जनताको अधिकार खोस्‍न खोजेको आरोप लगाए । उनले कांग्रेसभित्र विपी कोइरालाको सिद्धान्त मंगलबार पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गरे ।

सम्बन्धित समाचार