नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ साउन ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म मौसम सक्रिय रहने जनाएको छ । देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ । साथै मनसूनी न्युन चापीय रेखा नेपालतिर सरेको अवस्था छ ।
विभागका महानिर्देशक सरजु वैद्यले हिउँदको वर्षाले जमिन भिजेको र गलिसकेका कारण मनसुन सुरु हुने बित्तिकै ठाउँठाउँमा पहिरोका घटनाहरु भएको बताए । ऊर्जा, जलस्रोत तथा सिंचाइँ मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा बोल्दै उनले साउन ९ गते शुक्रबारसम्म वर्षा हुने र यसपछि क्रमिक रुपमा कम हुँदै जाने जानकारी दिएका थिए ।
वर्षाका कारण पानीको बहाव मुख्य नदी तथा खोलामा पर्ने भएकाले त्यस आसपासका बस्तीमा जोखिम हुने भन्दै सुरक्षित रहन उनले आग्रह गरेका छन् । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन महाशाको अनुरोध छ ।
अविरल वर्षापछि आएको बाढीले ३ जनाको मृत्यु, ५ जना बेपत्ता र १ जना घाइते छन् ।

