नेपालमा कोरोनाबाट पहिलो विदेशी नागरिकको मृत्यु

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमित चिनियाँ नागरिक ४८ वर्षे महिला रहेको अस्पतालले जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक डाक्टर रोहित पोखरेलले अस्पतालमा उपचारका एकजना चिनियाँ नागरिकको मृत्यु भएको पुष्टि गरे ।

डा पोखरेलका अनुसार मृत्यु भएकी चिनियाँ नागरिक ४८ वर्षकी महिला हुन् । उनी हिजोमात्र ग्राण्डी अस्पतालबाट त्रिवि शिक्षण अस्पतालमा रेफर भएकी थिइन् । ग्राण्डी अस्पतालमा नै कोरोना पुष्टि भएर टिचिङ अस्पतालमा रेफर भएकी उनको आज बिहान मृत्यु भएको निर्देशक डा पोखरेलले बताए ।



डा पोखरेलका अनुसार ती महिलामा मुटु सम्बन्धि रोग पनि थियो । ‘४८ वर्षको चिनियाँ नागरिक महिला आज बिहान एक्स्पायर हुनुभयो,’ डा पोखरेलले भने, ‘कोरोना पोजेटिभ हुनुहुन्थ्यो, ग्राण्डीबाट हिजो रेफर भएर हामीकहाँ भर्ना हुनुभएको थियो । उहाँलाई मुटुको रोग थियो । उहाँको शव अस्पतालमै राखिएको छ ।’

ती महिलाको शव शिक्षण अस्पतालमै राखिएको र दूतावाससँग समन्वयको काम भइरहेको अस्पतालले जनाएको छ । विदेशी महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको आधिकारिक पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने गरेको छैन ।

सम्बन्धित समाचार