कोरोनाबाट नेपालमा थप २ जनाको मृत्यु भएपछि सरकारले गर्यो यस्तो अपिल

नेपालमा बुधबार थप २ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोरोना संक्रमित वृद्धको मृत्यु भएको हो । धनुषाका ६० वर्षीय पुरुषको आज कोरोनाले मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

यसैगरी ५९ वर्षीय चिनियाँ महिलाको साउन २ गते काठमाडौं ग्राण्डी अस्पतालमा ल्याइएको र थप उपचारका लागि त्रिबि अस्पतालमा ल्याइएकोमा उपचारका क्रमममा उनको निधन भएको मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४२ पुगेको छ । थप २ जनाको ज्यान गएसँगै सरकारले कोरोना भाइरस संक्रमणको जोखिम नघटेको रहन अपिल गरेको छ ।



स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित लाइभ अपडेट मार्फत कोरोना संक्रमणको जोखिम नघटेको जानकारी दिएका हुन्। ‘म फेरि पनि भन्न चाहन्छु, कोरोनाको जोखिम घटेको छैन,’डा गौतमले भने, ‘केही नियन्त्रणमा आएको मात्र हो ।’ सावधानी नअपनाउँदा कोरोना संक्रमणको दर फेरि बढ्न सक्ने पनि डा गौतमले बताए ।

उनले भने, ‘हामीले सावधानी अपनाएनौं भने संक्रमण दर बढ्न पनि सक्छ, हामीले छिमेकी देशहरुको उदाहरणबाट पनि सिक्न सक्छौ।’ सरकारले चैत ११ गतेदेखि गरेको लकडाउन आजदेखि अन्त्य गरेपनि व्यक्ति स्वयंले कोरोनाबाट बच्न सचेत हुनुपर्ने डा गौतमको भनाइ छ । डा गौतमले कोरोना संक्रमणबाट बच्न लकडाउनको अवस्थामा जस्तै अत्यावश्यक काम पर्दा मात्र घरबाहिर निस्किन, घर बाहिर निस्किँदा मास्कको प्रयोग गर्ने, एकअर्कामा दूरी कायम गर्ने, समय समयमा स्यानिटाइजर प्रयोग गर्ने तथा साबुन पानीले हात हुने तथा मन्त्रालयले कोरोना सर्ने जोखिमबाट बच्ने उपायबारे बनाएका मापदण्ड पालना गर्न पनि अपिल गरेका छन् ।

नेपालमा बुधबार थप १०० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २०७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १२ हजार ६८४ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

सम्बन्धित समाचार