आज पनि भारी वर्षा हुने, सतर्कता अपनाउन आग्रह

नेपालमा मनसुनी वायु सक्रिय रहँदा अहिले मुलुकका विभिन्न स्थानमा वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा वर्षा भइरहेको छ । आज दिनभर केही स्थानमा भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

मनसुनी न्यून चापीय रेखा पश्चिमी भू–भागमा नेपालबाट दक्षिण सरेको तथा पूर्वी भू-भागमा नेपाल नजिक रहेकाले दिउँसो कर्णाली बाहेकका प्रदेशमा भारी वर्षाको सम्भावना छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।



आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा भने भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

देशभरका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।

सम्बन्धित समाचार