नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ साउन ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रको विवाद चर्किरहेको बेला गत शनिबार प्रधानमन्त्री केपी ओलीले सचिवालय बैठकमा एकाएक अर्ली महाधिवेशनको एजेण्डा प्रस्तुत गरे । वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाललाई साथ लिएर ओलीको राजीनामा मागिरहेका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीको प्रस्तावलाई अनपेक्षित रूपमा समर्थन गरे । एकाएक नेकपाभित्रको समीकरण फेरबदल भयो ।
नेपाल र खनाल समूहले प्रचण्ड ओलीसँग मिलेर आफूहरुलाई धोका दिएको आरोप लगाउन थाले । ओलीको राजीनामा माग्ने सन्दर्भमा प्रचण्डलाई साथ दिएका उपाध्यक्ष वामदेव गौतम पनि प्रचण्डसँग रुष्ट भए । प्रचण्डनिकट नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि महाधिवेशन ओलीको चालबाजी भएको भन्दै प्रचण्डले समर्थन गरेर गल्ती गरेको प्रतिक्रिया दिए । प्रचण्डलाई गृहमन्त्री रामबहादुर थापा र जनार्दन शर्माले भने साथ दिएका थिए ।
बालुवाटारको सचिवालय बैठकमा ओलीको प्रस्तावलाई समर्थन गरेर शीतल निवासमा राष्ट्रपति विद्या भण्डारीलाई साक्षी राखेर लिखित सहमति गर्ने योजना बन्यो । महासचिव विष्णु पौडेल र जनार्दन शर्मा शीतल निवास पुगेर सहमतिको ड्राफ्ट कोर्न थाले । प्रचण्ड र ओली पनि केहीबेर बालुवाटारमा टहलिएपछि शीतल निवासतिर लागे । ओली र प्रचण्डबीच मंसिरमा महाधिवेशन गर्ने र प्रचण्ड एकल अध्यक्षको उम्मेदावार बन्ने सहमति भएको भन्ने व्यहोराका समाचारले नेपालको राजनीति गर्मायो । तर रातको १२ बजे एकाएक प्रचण्डको सचिवालयले ओलीसँग कुनै सहमति नभएको भन्दै एक सन्देश जारी गर्यो ।
शीतल निवासको शर्तले भड्किए प्रचण्ड
शीतल निवास नपुग्दासम्म ओली र प्रचण्ड लिखित सहमति गर्नेमा सहमत भएका थिए । राष्ट्रपतिसँग दुबै नेताले मंसिरमा महाधिवेशन गरेर पार्टीभित्रको विवाद समाधान गर्न सहमत भएको बताए । यता राष्ट्रपतिले राजनीतिक विचारधाराको कुरा उठाइन् । प्रचण्डले जनताको जनवादलाई नै राजनीतिक विचारधारा बनाउनुपर्ने बताए । तर राष्ट्रपतिले तपाई एकल अध्यक्ष बन्ने हो भने जनताको बहुदलिय जनवादलाई राजनीतिक विचारधारा बनाउनुपर्ने शर्त राखिन् ।
यो निर्णय अहिले लिन नसकिने प्रचण्डले बताएपछि राष्ट्रपतिले अर्को शर्त पनि थपिन् । उनले महाधिवेशनपछि ओलीलाई नेकपाको सर्वोच्च नेता बनाउनुपर्ने बताएको स्रोतको दाबी छ । राष्ट्रपतिले यति भनसक्दा प्रचण्डले ओलीकै इशारामा राष्ट्रपतिले शर्त राखेको लख काटे । शीतल निवासमा झुक्याएर सहमति गर्ने प्रपञ्च भएको भन्दै प्रचण्ड आज सहमति हुन सक्दैन भन्दै शीतल निवासबाट बाहिरिए । मंसिरमा महाधिवेशन गर्न सहमत भएका ओली र प्रचण्डबीच शीतल निवासका २ वटा शर्तले एकाएक सहमति भाँडियो ।
भोलिपल्ट प्रचण्डले नेता नेपाल र खनाललाई भेटेर ओलीसँग कुनै सहमति नभएको बताए । मंसिरमा सहाधिवेशन सम्भव नभएको भन्दै उक्त प्रस्तावमा आफूले जनाएको सहमति फिर्ता लिने बताए । त्यतिमात्र होइन, प्रचण्ड र नेपालसमूहबीच महाधिवेशन भएपनि मिलेरै ओलीको सामना गर्ने गोप्य सहमति नै भयो । अन्ततः नेकपाको विवाद फेरि गोलचक्करमा फँस्यो ।