नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ साउन ।

श्रीमतीको हत्यामा दोषी ठहर भइ जेल सजाय भुक्तान गरी सशस्त्र प्रहरीका पूर्व डीआइजी रञ्जन कोराला बिहीबार छुटेका छन् । कोइराला बिहीबार बिहान डिल्लीबजार कारागारबाट बाहिरिएका हुन् ।
सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैदको सजाय घटाएर साढे ८ वर्ष ६ महिना मात्र कायम गरेपछि कोइराला उक्त सजाय भुक्तान गरी छुटेका हुन् । राजधानीमा श्रीमती गीता ढकालको हत्यापछि गाडीमा राखेर मकवानपुर लगि जलाएकोले उनी दोषी ठहर भएका थिए ।
डिल्लीबजार कारागारबाट थुनामुक्त भएका सशस्त्र प्रहरी बलका पूर्वडीआईजी रञ्जन कोइरालालाई ‘रिसिभ’ गर्न प्रेमिका तारा रेग्मी डिल्लीबजार कारागार पुगेकी छन् । उनलाई लिन बा १८ च ५४१७ नम्बरको कार चलाएर प्रेमिका रेग्मी डिल्लीबजार कारागार पुगेकी हुन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको इजलासले कोइरालाको सर्वस्वसहितको जन्मकैद सजाय घटाएको हो । २०६८ साल माघमा उनले श्रीमती गीताको हत्या गरेका थिए ।
रञ्जन र गीता ढकालका दुई छोराहरु छन् । गीताको हत्या गरेर जेल परेका रञ्जन रिहा हुँदा उनका छोराहरु रिसिभ गर्न आएनन् ।

