किन ३८ घण्टासम्म सम्पर्कमा आएनन् कोरोना संक्रमित डाक्टर ?

गएको मंगलबार रातिदेखि सम्पर्क बिहीन रहेका विराटनगरका एकजना कोरोना भाइरस संक्रमित महानरपालिकाको सम्पर्कमा आएका छन् । ६५ वर्षे संक्रमित गएको मंगलबारदेखि सम्पर्कमा थिएनन् । विराटनगर अस्पतालमा संकलित स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ भेटिएसँगै संक्रमित सम्पर्क बाहिर थिए । करिब ३८ घण्टापछि बिहीबार बिहान उनी महानगरको सम्पर्कमा आएका हुन् ।

महानगर प्रमुख भीम पराजुलीसहितको टोलीले प्रहरीको सहायतामा खोजी गरेको थियो । प्रमुख पराजुलीका अनुसार हाल सम्पर्कमा आएका संक्रमित सोही अस्पतालका चिकित्सक हुन् । मेयर पराजुलीले महानगरमा छलफल भइरहेको र आवश्यक परेको खण्डमा अस्पतालमा आवतजावतमा पूर्णरुपमा रोक लगाउन सकिने बताए ।



विगत दुइदिन देखि मोबाइल नम्बर समेत गलत दिएर सम्पर्कबिहीन भएका तीन चिकित्सकबारे बुधबार महानगरको जनस्वास्थ्य टोलीसहित प्रहरीले अस्पतालमा सोधपुछ गरेको थियो । प्रशासनबाट बिहीबार संक्रमित व्यक्तिको नाम र ठेगाना खुलेको महाशाखा प्रमुख कार्कीले जानकारी दिए ।

विराटनगरस्थित प्रदेश १ जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवले नमूना संकलनका क्रममा सबै प्रक्रिया पूरा नगरेकोमा अस्पताल कारवाहीको भागिदार रहने बताए ।

सम्बन्धित समाचार