कोरोनाबाट वीरगञ्जका ७० वर्षे पुरुषको मृत्यु, मृतकको संख्या ४३ पुग्यो

नारायणी अस्पतालमा एक जनामा मृत्यु पश्चात कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका डाक्टर उदय नारायण सिंहका अनुसार मृत्युपछि कोरोना पुष्टि भएका व्यक्ति वीरगञ्जका ७० वर्षका पुरुष हुन् ।

डा.  सिंहका अनुसार ती पुरुष श्वासप्रश्वासको समस्या लिएर साउन ५ गते एड्भान्स मेडिकेयर नामका निजी अस्पतालमा भर्ना भएका थिए । उनको अवस्था जटिल बन्दै गएपछि उक्त अस्पतालले ६ गते नारायणी अस्पतालको व्यवस्थापनमा सञ्चालित कोभिड अस्पतालमा रेफर गरेको थियो ।



ती पुरुषको उपचारका क्रममा ६ गते बेलुका ४ बजे नै मृत्यु भएको थियो । अस्पतालले कोरोनाको आशंका गर्दै नमूना संकलन गरी उनको शव कोरोना व्यवस्थापन निर्देशिका अनुसार अस्पतालमै राखेको थियो । ती पुरुषको कोरोना परीक्षणको रिपोर्ट बुधबार राति पोजेटिभ आएको डा सिंहले बताए ।

‘हाम्रो अस्पतालमा मृत्यु भएका एकजना पुरुषमा कोरोना पोजेटिभ आएको छ, साउन ६ गते मृत्यु भएको थियो, ७ गते रिपोर्ट पोजेटिभ आयो,’ डा सिंहले भने, ‘उहाँको शव अस्पतालमै राखिएको थियो । कोरोना पोजेटिभ आएपछि अहिले आर्मीले शव व्यवस्थापन गर्दैछ ।’

सम्बन्धित समाचार