जनस्वास्थ्य विज्ञ भन्छन्– लकडाउन खोल्ने सरकारको निर्णयले झनै जोखिम बढ्यो, आफै सर्तक रहौं

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले चार महिनासम्म देशभर जारी गरेको लकडाउन मंगलबार रातीबाट खुला गरिसकेको छ । तर पनि सरकारले लामो दूरीको यातायात, विद्यालय, मनोरञ्जनस्थल, भोज आदि केही क्षेत्रमा प्रतिबन्ध कायमै राखेको छ ।

सरकारले लकडाउन अन्त्य भएको घोषणा गरेसँगै आम सर्वसाधारण घरबाट निस्कने क्रम बढेको छ । सार्वजनिक यातायातसमेत सञ्चालनमा आएपछि सडकमा सवारी साधनहरूको चाप बढेको छ । सडक तथा गल्लीहरूमा आम सर्वसाधारणको चहलपहलल र सडकमा सवारी साधनहरूको चापले यतिबेला कोरोना भाइरसको त्रास बिर्साइदिएको छ ।



लकडाउन अन्त्य गर्ने सरकारको निर्णय अपरिपक्व भएको जनस्वास्थ्य विज्ञहरू भनाइ छ । समुदायमा कोरोना संक्रमणको ब्यापक परीक्षण गरेर वास्तविक अवस्था थाहा नपाइ लकडाउन अन्त्य गर्ने सरकारको निर्णय हतारयुक्त र अपरिपक्व भएको जनस्वास्थ्य विज्ञ डा.रवीन्द्र पाण्डेले बताएका छन् । देशका करिब ७० जिल्लामा संक्रमित रहेको, काठमाडौं उपत्यकालगायत शहरी क्षेत्रमा फाट्टफुट्ट कोरोना संक्रमण देखिइरहेको, परीक्षणको दायरा एकदम साँघुरो भएको, छिमेकी देश भारतमा कोरोना संक्रमण ब्यापक फैलिएको तथा नेपालसँग सिमाना जोडिएका बिहार, युपी तथा पश्चिम बंगालमा कोरोना संक्रमण निकै बढेको अवस्थामा लकडाउन अन्त्य गर्नु निकै जोखिमपूर्ण रहेको डा. पाण्डेको भनाइ छ ।

त्यसैगरी संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले सरकारले लकडाउन अन्त्यको घोषणा गर्नु अगाडि परीक्षण बढाएर समाजमा संक्रमण कुन स्तरमा छ भनेर थाहा पाउँनुपर्ने आवश्यक रहेको बताएका छन् । सरकारले एकाएक लकडाउन अन्त्य गरेको भए पनि आम सर्वसाधारण भने आफैं सर्तक हुनुपर्ने उनको भनाइ छ ।

सम्बन्धित समाचार