रञ्जन कोइराला जेलमुक्त प्रकरण : नेपालको कानून दैव जानून्

सर्वोच्च अदालतको असार १५ गतेको फैसला आदेशपछि जन्मकैद भोगिरहेका पूर्वसशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइराला आठ वर्ष छ महिना कैद सजाय भुक्तान गरेर विहीबार जेलमुक्त भए । श्रीमती गीता ढकालको हत्या गरेपछि पूर्वडीआईजी कोइराला जेल जीवन बिताइरहेका थिए । सो मुद्दामा जिल्ला र पुनरावेदन अदालतले सर्वस्वसहित कोइरालालाई जन्मकैदको फैसला सुनाएको थियो । तर सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र तेजबहादुर केसीको इजलासले उनको सजाय घटाउने फैसला गरेसँगै फैसला अनुसारको कैद भुक्तान गरेर कोइराला जेलमुक्त भएका हुन् ।

कोइरालाले २०६८ माघमा पत्नी गीताको महाराजगञ्जमा हत्या गरेर पालुङमा लगेर शव जलाएका थिए । तर गत असार १५ मा सर्वोच्च अदालतका न्यायाधीशहरूले कोइरालालाई जन्मकैदको सजाय गर्दा ‘चर्को पर्न जाने हो कि’ भन्नेबारे विचार गर्दै गीता ढकालकै कारण रञ्जन कोइराला आवेशमा आएका र त्यहीबेलाको रिसबाट गीतालाई धकेल्दा भित्तामा ठोकिएर उनको मृत्यु भएको निष्कर्ष निकालेका छन् । फैसलामा उल्लेख छ– ‘वारदात हुँदाको पृष्ठभूमिसहितको अवस्था र परिस्थितिलाई हेर्दा वारदात मृतककै कारण र जरियाबाट प्रतिवादी आवेशमा आई उठेको रिसबाट भएको भन्नेसम्मको अवस्था देखिन्छ ।’ यही निष्कर्षको आधारमा न्यायधीशको विशेष अधिकार प्रयोग गर्दै सर्वोच्चले सर्वस्वसहित जन्मकैद (२० वर्ष) को सजाय तोकिएका कोइरालालाई आधाभन्दा बढी सजाय घटाएको हो ।



अभिभावक विहीनताको कारणले रञ्जन–गीताबाट जन्मेका दुई जना छोराहरूको हेरचाह, संरक्षण एवं शिक्षा दीक्षामा अन्योल हुन गई उनीहरूको हितमा समेत दूरगामी प्रभाव पर्न जाने भन्दै प्रधानन्यायाधीश राणा र न्यायाधीश केसीको इजलासले रन्जनको सजाय घटाइदिएका हुन् । फैसलामा थप भनिएको छ– ‘उपरोक्त कारणले जन्मकैदको सजाय गर्दा चर्को पर्न जाने जस्तो चित्तमा लागेको हुँदा ८ वर्ष ६ महिना कैद सजाय गर्दा पनि सजायको मकसद पूरा हुने देखिएकोले रञ्जनप्रसाद कोइरालालाई ८ वर्ष ६ महिना कैद हुने ठहर्छ ।’
तर कोइरालाका दुबै छोराहरू २० वर्ष कटिसकेकोले अभिभावकको हेरचाहको आवश्यक नरहेको भन्दै सर्वोच्चको फैशलालाई लिएर असन्तुष्टि पैदा भएको छ । सर्वोच्चको यो निर्णयपछि हत्याजस्तो जघन्य अपराधमा गलत नजिर बस्ने भन्दै चर्को आलोचना भएको छ । कोइराला जेलमुक्त भएपछि ‘नेपालको कानून दैव जानून्’ भन्ने उखान फेरि एकपटक धेरैैको मुखमा झुण्डिएको छ ।

स्मरणीय छ, काठमाडौं जिल्ला अदालतले २०७१ वैशाख ७ गते कोइरालालाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो र सोही फैसलाअनुसार उनी सजाय भुक्तान गरिरहेका थिए । जिल्ला अदालतको फैसलाविरूद्ध उनी पुनरावेदन अदालत पनि गएका थिए तर पुनरावेदन अदालतले पनि जिल्ला अदालतकै फैसलालाई सदर गरिदिएको थियो । त्यसपछि उनी सर्वोच्च अदालत पुगेका थिए ।

सर्वस्वसहित जन्मकैदको सजाय तोकिएका व्यक्तिको आधाभन्दा बढी सजाय घटाएको भन्दै महान्यायाधिवक्ता कार्यालयले पुनरावलोकनमा जाने निर्णय गरेको छ ।

यस्तो थियो घटना
२०५० सालमा बिहे गरेका रञ्जन र गीताबाट दुई छोराको जन्म भएपछि उनीहरूको सम्बन्ध बिग्रन थालेको थियो । रञ्जनले चितवनकी तारा रेग्मीसँग सम्बन्ध बढाएपछि उनको पारिवारिक सम्बन्ध बिग्रँदै गएको थियो । रञ्जनले गीतामाथि सम्बन्धविच्छेदका लागि दबाब दिँदै अंशचलान मुद्दा हालेका थिए भने गीताले रन्जनमाथि मानाचामल मुद्दा हालेकी थिइन् । उनीहरू एक अर्काबाट छुट्टिएर बस्न थालेका थिए । गीता बूढानीलकण्ठ–५ मा बस्थिन् भने रञ्जन ११ महिने नेशनल डिफेन्स कोर्षका लागि २०६८ भदौमा चीन गएका थिए ।

चीनबाट विदामा २१ पुसमा रञ्जन नेपाल फर्किए र २७ पुसमा गीताको घर पुगी कान्छो छोरा लिएर हिँडेका थिए । गीताले आफ्ना बाबु हरेराम ढकाललाई त्यसबारे जानकारी दिएकी थिइन् । त्यसपछि माइतीले बारम्बार प्रयास गर्दा पनि गीतासँग सम्पर्क हुन सकेन । खोजी गर्दा पनि नभेटिएपछि गीताका बाबु हरेरामले ‘रञ्जनले छोरीको दाइजो र पेवा हत्याउनका लागि सम्बन्ध विच्छेदको दबाब दिँदै आएको, बारम्बार मानसिक र शारीरिक यातना दिएको भन्दै उनलाई बन्धक बनाएर राखेको हुनसक्ने’ आशंकासहित ६ माघ २०६८ मा महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए । त्यसको दुई दिनपछि गीताको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा रहेको खबर पाएका हरेरामले छोरीको हत्यामा जिम्मेवार रहेको भन्दै रञ्जन विरूद्ध अर्को जाहेरी दिए ।

अनुसन्धान हुँदै जाँदा रञ्जनले २७ पुसमै गीताको हत्या गरेको र मकवानपुरको टिस्टुङ– ८ स्थित त्रिभुवन राजपतको मेत्राङ भन्ने स्थानमा जलाएको पुष्टि भयो । पुस २८ मा जलेको अवस्थामा त्यहाँ शरीरका बाँकी अंगहरू भेटिए । डीएनए परीक्षणबाट उक्त शरीरका टुक्राहरू गीताकै भएको पुष्टि भयो । माघ ८ मा नागढुंगामा आफैंले चलाएको बा ८ च ५४०८ नम्बरको गाडीसहित रञ्जन पक्राउ परेका थिए ।

सम्बन्धित समाचार