अस्पतालले भर्ना नलिँदा एम्बुलेन्समै बिरामीको मृत्यु

अस्पतालले उपचार गर्न नमान्दा उदयपुरका एक युवकको एम्बुलेन्समै मृत्यु भएको छ । शुक्रबार दिउँसो विराटनगरका दुई ठूला अस्पताल नोबल अस्पताल र कोशी अस्पतालले उपचार गर्न नमान्दा उदयपुरका २३ वर्षका पदम राईको एम्बुलेन्समै मृत्यु भएको हो । दिउँसो साढे २ बजे एम्बुलेन्समा कोशी अस्पताल ल्याइएका युवकलाई चिकित्सकले उपचार गर्न नमान्दा साढे ३ बजेतिर एम्बुलेन्समै मृत्यु भएको आफन्त र एम्बुलेन्स चालकले बताएका छन् ।

त्यसअघि शुक्रबार नै नोबल मेडिकल कलेजले उपचार गर्न नमानेपछि उनलाई कोशी अस्पताल ल्याइएको थियो । स्वासप्रश्वासमा समस्या देखिएपछि पदमलाई श्रीमती कमला र बहिनी चमेलीले विहीबार कटारी अस्पताल लगेका थिए । कटारी अस्पतालले रेफर गरेपछि उनीहरुले शुक्रबार विराटनगरको नोबल मेडिकल कलेज ल्याएका थिए । दिउँसो २ बजेसम्म उनको अवस्था सामान्य थियो । बेलाबेला श्वास प्रश्वासमा समस्या भएकाले अक्सिजन लगाएका थिए ।



नोबेलले एम्बुलेन्सबाट बिरामी लिन स्ट्रेचरसमेत ल्यायो । तर पछि कोरोना जाँच गराएर मात्र आउन भन्दै अस्पतालले भर्ना लिन मानेन । नोबेलले भर्ना नगरेपछि एम्बुलेन्स चालक सुवास तामाङले साढे २ बजे कोशी अस्पताल ल्याए । तर सरकारी अस्पतालले पनि एम्बुलेन्सबाट बिरामी झार्न दिएन । इमर्जेन्सी वार्ड अगाडि रोकिएको एम्बुलेन्समा करिब एक घण्टापछि उनको मृत्यु भएको हो ।

सम्बन्धित समाचार