नवकान्तिपुर संवाददाता
काठमाडौं, १० साउन ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीमाथि धाराबाहिक फायर खोलेका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृति दिवसको सन्दर्भमा आयोजित श्रद्धाञ्जली कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्ड र नेता नेपाल ओलीविरूद्ध निकै आक्रमक देखिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अहिलेको विवादले गम्भीर संकट ल्याउन सक्ने बताए ।
ओलिविरूद्ध निकै आक्रमक रूपमा प्रस्तुत भएका प्रचण्डले ओलीकै इशारामा निर्वाचन आयोग नयाँ पार्टी नेकपा एमाले दर्ता भएको आरोप लगाए । यसबाट ओली जुनसुकै बेला पार्टी फुटाउन तयार भएर बसेको पुष्टि हुने भन्दै प्रचण्डले आफूहरू पार्टीलाई फुटबाट जोगाउन अन्तिम कसरतमा रहेको बताए । पार्टीभित्र कमिटीगत बैठकहरू बोलाउन पनि निकै समस्या हुने गरेको भन्दै प्रचण्डले पार्टी बैठकबाट ओली डराएको आरोप लगाए । प्रचण्डले नेपालको नयाँ नक्सा प्रकाशित गर्ने निर्णय स्थायी कमिटीको बैठकबाट आफूले पारित गराएको पनि दाबी गरे । उनले जेठ २ गते बिहान बसेको सचिवालय बैठकले अन्तिम समयमा नीति तथा कार्यक्रममा नक्सा छाप्ने विषय समावेश गरेको दाबी गरे ।
प्रचण्डले भने ‘त्यसदिन पनि हामीले नीति तथा कार्यक्रममा नक्सा छाप्ने विषय समावेश गर्नुपर्छ भनेर भनेपछि बैठकबाटै मुख्य सचिवलाई फोन गरेर यस्तो भाषा राखौं भनेर हामीले नै सुझाव दिएका हौं । हामीले प्रधानमन्त्रीलाई धन्यवाद दिएका छौं । प्रधानमन्त्रीले नमानी बैधानिकता पाउँदैनथ्यो । तर, सामूहिकरूपमा गरेको निर्णय व्यक्तिको खल्तीमा हाल्ने काम भयो । सामूहिक निर्णय गराउने, राष्ट्रघाती दलाल हुने, नक्सा छाप्न ढिलाइ गर्नेको देवत्वकरण गर्ने कुरा राम्रो हुँदैन ।’
सोही कार्यक्रममा नेता नेपाल पनि ओलीविरूद्ध निकै आक्रमक देखिए । नेपालले भने– ‘विधिको पालना गरिएन भने र जो कोही पनि पतन हुने बताए । उनले कसैले आफूले सोचेजस्तो भएन भनेर पार्टी फुटाउन खोज्दैमा पार्टी नफुट्ने बरू चोइटिन भने सक्ने बताए । कसैले चोइट्याउन खोज्यो भने एक्लिएर जाला तर पार्टी फुटेर जानेवाला छैन । फुट्नेवाला छैन । कसैले पार्टी फुट्छ भनेर लेखिहाल्यो भने पनि डरले थर थर काप्नुपर्ने आवश्यकता छैन ।’
यसअघि पार्टीभित्रको विवादबारे सार्वजनिक रूपमा टिप्पणी गर्ने नगरेका प्रचण्ड र नेपाल दुबैले आज एउटै कार्यक्रममार्फत ओलीमाथि आक्रमक रूपमा प्रस्तुत हुनुले उनीहरू ओलीसँग वार कि पारको लडाइँ लड्न चाहेको प्रष्ट हुन्थ्यो । यसअघि आजै बिहान ओलीलाई भेट्न बालुवाटार गएका प्रचण्डसँग ओलीले घेराबन्दी भइरहे आ–आफ्नो सुर गरौं भन्दै पार्टी फुट्न सक्ने संकेत गरेको स्रोतको दाबी छ । ओलीले आ–आफ्नो सुर गरौं भनेपछि आक्रोशित भएको प्रचण्डले लगतै भाषण गर्ने क्रममा ८० प्रतिशत समय ओलीको भण्डाफोर गर्न समय व्यतीत गरेका थिए ।