भारतले धार्चुलाको बाटो किन बन्द गरेको हो ?

दार्चुलाको छाङरु–तिङ्कर जाने एक मात्र घोडेटो बाटो विगत केही वर्षयता प्रयोग गर्न नमिल्ने गरी बिग्रिएपछि भारतको धार्चुलाको बाटो प्रयोग गर्न बाध्य भएका स्थानीय बासिन्दा अहिले सो मार्ग पनि बन्द भएपछि समस्यामा छन् ।

कोरोना भाइरसको महामारीसँगै लकडाउन लागु भएको र अन्तर्राष्ट्रिय सीमा बन्द गरिएसँगै दार्चुलाको व्यास गाउँपालिका–१ को छाङरु र तिङ्करका बासिन्दाले विकल्पका रुपमा प्रयोग गर्दै आएको छाङरु–गर्ब्याङ–छ्यालेक बाटो बन्द रहेको गाउँपालिका अध्यक्ष दिलिप बुढाथोकीले बताए ।



उनले भने, ‘दार्चुला सदरमुकामबाट तिङ्कर जोड्ने एकमात्र घोडेटो बाटो विगत केही वर्षदेखि बिग्रिएर बन्द छ । त्यसपछि छाङरु, तिङ्करका बासिन्दाले महामाली नदी पारी भारतको धार्चुलाको गर्ब्याङ्ग हुँदै छ्यालेक आएर सदरमुकाम पुग्ने गरेका थिए । तर अहिले सीमा बन्द रहेकाले सो बाटो बन्द छ । महाकालीका पुलहरुमा आवतजावत रोक लाग्दा छाङरु र तिङ्करका बासिन्दा अत्यावश्यक र आधारभूत आवश्यकीय सामग्री लिन सदरमुकाम आउन पाएका छैनन् ।’

नेपालले नयाँ नक्सा जारी गरेपछि उत्पन्न सीमा विवादका कारण भारतीय पक्षले बाटो प्रयोगमा रोक लगाएको भन्ने आए पनि अहिले नै त्यस्तो भन्न नमिल्ने उनले बताए । गाउँपालिका अध्यक्ष बुढाथोकीले भने, ‘लकडाउनसँगै अन्तर्राष्ट्रिय सीमा बन्द गरिएका कारण समस्या भएको हो । तर सीमा विवादको प्रभाव हो वा होइन भन्नका लागि सीमा खुला गरिनु पर्छ, त्यसपछि मात्रै थाहा हुन्छ।’

तर तत्कालका लागि भने छाङ्रु र तिङ्करका बासिन्दा यातायात सञ्जालबाट विच्छेद भइ एक्लिएकाले विकल्पको खोजी भएको उनले बताए । हालै हेलिकप्टर मार्फत २०० क्वीन्टल चालम पठाइएको र स्थानीय स्वास्थ्य चौकीका लागि आधारभूत औषधिहरु पनि ठपाइएको भए पनि अरु दैनिक उपभोग्य सामानको अभाव रहेको स्थानीय बासिन्दाले गुनासो गरेको गाउँपालिका अध्यक्ष बुढाथोकीले बताए । यस्तै चाडबाड आएकाले हिउँद छल्नका लागि सदरमुकामसहितका स्थान झरेकाहरु घर फर्किन नपाउँदा पनि समस्या भएको उनले बताएका छन् ।

सम्बन्धित समाचार